०५ साउन २०८३, मंगलबार
सुनको धन्दा

नेपालमा सुन तस्करको जालो : दिनमै ९० केजीसम्म भित्रिँदै, कहाँ जान्छ त्यति धेरै सुन ?

फागुन ३, २०७८
नेपालमा सुन तस्करको जालो : दिनमै ९० केजीसम्म भित्रिँदै, कहाँ जान्छ त्यति धेरै सुन ?

नेपालमा दैनिक कति सुन खपत हुन्छ ? दैनिक कति सुन भित्रन्छ ? सरकारले औपचारिक तथ्यांक सजिलै दिन्छ– २० केजी ।

यो सुन आयातका लागि राष्ट्र बैंकले तोकेको कोटा हो ।

तर, नेपाली बजारमा नै २० केजी सुनले दैनिक माग नधान्ने व्यवसायीहरू बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा दैनिक ३० केजी र विवाहको मौसममा ४० केजीसम्म सुन खपत हुन्छ । 

नेपालमा बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् । राष्ट्र बैंकको अनुमति लिएर वाणिज्य बैंकहरूले पालैपालो सुन आयात गर्ने गर्छन् । 

व्यवसायीहरूले बैंकसँग सुन किन्छन् र सामान्य ग्राहकलाई बिक्री गर्छन् । 

तर, प्रश्न आउँछ, बैंकले दैनिक २० किलो सुन उपलब्ध गराउँदा दैनिक ३० किलो सुनको बजार माग कसरी धानिन्छ ? सरकारी निकायले दिने औपचारिक तथ्यांकमा यसको उत्तर छैन ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य वैदेशिक रोजगारीबाट फिर्ता आउने व्यक्ति, नेपालमै भएको पुरानो सुन र रिफाइन गरिएको सुनबाट दैनिक मागमा अपुग हुने १० किलो सुनको परिपूर्ति हुने दाबी गर्छन् । 

उनको दाबीलाई सत्य मान्न पर्याप्त आधार भने छैन । वैदेशिक रोजगारीबाट आउने व्यक्तिले गरगहनाको रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाउँछ । तर, त्यो तत्काल बजारमा आउने होइन । 

पुरानो सुनको किनबेचले मात्रै पनि दैनिक १० किलो माग धान्न मुश्किल हुने सुनचाँदी व्यवसायीहरू नै स्वीकार गर्छन् । 

त्यसो भए कहाँबाट आउँछ त बाँकी सुन ? अनौपचारिक कुराकानीमा सरकारी अधिकारीहरू नै तस्करीबाट आउने सुनले बजार माग धान्ने गरेको स्वीकार्छन् । 

दिनकै ९० केजीसम्म सुन अवैध रूपमा भित्रिने गरेको र त्यसको अधिकांश हिस्सा भारततर्फ जाने गरेको उनीहरूको दाबी छ ।

यसबारे अगाडि विस्तृतमा चर्चा गर्नेछौं ।

पछिल्लो समय बाला बनाएर त्रिभुवन विमानस्थल हुँदै सुन भित्रिने क्रम बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईका अनुसार विमानस्थलमा पछिल्लो ३ महिनामा बाला बनाएर ल्याएको काँचो सुन २ सय २५ केजी बरामद भएको छ ।

बाला बनेर मात्र दैनिक औसत साढे २ किलो सुन यसरी नेपाल भित्रिन्छ ।  

अर्कातर्फ गहनाका रूपमा आधिकारिक रूपमै ल्याउन पाउने (एक जनाले ५० ग्राम) सुन समेत हिसाब गर्दा दैनिक सरदर २० किलोसम्म सुन भित्रिने गरेको छ ।

भन्सार विभागले २०७८ मंसिर १४ गतेदेखि शुरू गरेको अपरेसनका क्रममा दैनिक २० केजीसम्म सुन भित्रिएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

भन्सारले मात्रै होइन, विमानस्थलमा प्रहरीले पनि सुन बरामद गर्छ । महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयको तथ्याङ्क अनुसार चालू आवको ७ महिनामा लगभग साढे २३ केजी सुन बरामद गरिएको छ ।

विमानस्थलबाट उम्किने सुनको त कुनै लेखाजोखा नै छैन ।

माघ २९ गते हिमालयन एयरलाइन्सको दुबई उडानमार्फत चिनियाँ नागरिक झाङ ली ४ केजी ८४० ग्राम सुनसहित पक्राउ परेका थिए ।

प्रहरीको अनुसन्धानमा उनी सन् २०१७ देखि २५ पटक नेपाल आएको देखिन्छ, तर यो पटक मात्र सुनसहित पक्राउ परेका हुन् ।

उनले त्यसअघि कति सुन ल्याए, अनुसन्धानकै विषय छ ।

विमानस्थलमा खटिएका इन्टेलिजेन्स र सुरक्षा अधिकारीहरूको भनाइलाई आधार मान्ने हो भने अवैधरूपमा ल्याउने सुन दैनिक २० केजीसम्म हुन्छ । 

ल्याउन पाउने, कर तिरेर ल्याउने र गहनाका रूपमा मोडेर ल्याउने काँचो सुन सरदर २० केजी भित्रिने गरेको छ ।

कोटाको २०, अवैध २० र गहनाका रूपमा मोडेर सरदर २० गरी ६० केजीसम्म सुन त विमानस्थलबाटै भित्रिने गरेको देखिन्छ ।

थप ३० केजी सुन विभिन्न नाकाहरूबाट भित्रिने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क हेर्ने हो भने आव २०७७/०७८ मा अवैधरूपमा भित्रिएको ३२ केजी सुन बरामद गरिएको थियो । यसमा सबैभन्दा धेरै मधेश प्रदेशबाट २३ केजी सुन बरामद भएको थियो ।

रसुवागढी नाकाबाट नै दैनिक २० केजीसम्म सुन भित्रिने गरेको बताइन्छ ।

रसुवा जिल्ला इञ्चार्ज बनिसकेका प्रहरी अधिकारी र सशस्त्र प्रहरीका अधिकारीहरूले बताए अनुसार नेपालबाट चीनतर्फ बूलेट बाइक लिएर जाने र फर्किँदा पार्टपूर्जा नै सुनको बनाएर ल्याउनेसम्मका गतिविधि हुने गरेका छन् ।

कतिपय अवस्थामा सुन कहाँ छ भनेर प्रहरीले फेला नै पार्दैन भने कतिपय अवस्थामा सेटिङमा पनि देखेको नदेख्यै गर्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रहरीमा रसुवाको इञ्चार्ज हुन दौडधूप हुने गरेको छ । हिमाली जिल्लामा इञ्चार्ज भएर जान मरिहत्ते गर्नुले पनि सुन तस्करीको तथ्यलाई संकेत गर्छ ।

यसका अलावा डोल्पा, दोलखालगायत जिल्लास्थित चिनियाँ नाकाहरूबाट पनि नेपालमा सुन भित्रिरहेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

डोल्पामा बसेर आएका एक निजामती कर्मचारीको भनाइलाई आधार मान्ने हो भने वर्षमा १५ दिनमात्र खुल्ने नाकाबाट दैनिक १० केजीसम्म सुन भित्रिने गरेको छ ।

सेटिङ, तस्करको चलाखी आदि कारणले अवैध सुन निर्बाध भित्रिरहेको छ ।

कहाँ जान्छ नेपालमा भित्रिएको सुन ?

२०७७ कात्तिक १ गते पर्साको वीरगञ्ज नगरपालिका– ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट साढे २२ केजी सुन प्रहरीले बरामद गरेको थियो ।

भारतको पूर्वी चम्पारण हरैयाका नागरिक अशोक सिन्हाको फ्ल्याटमा सुन र चाँदी फेला पारको थियो । तर त्यो सुनको धनी को हो ? भन्ने तथ्य प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

प्रहरीले सिन्हालाई पनि पक्राउ गर्न सकेको छैन । त्यो सुन कहाँबाट आयो भन्ने प्रश्न अहिलेसम्म अनुत्तरित नै छ ।

सुरक्षा अधिकारीहरूको दाबीलाई आधार मान्ने हो भने चीनबाट नेपाल हुँदै भारततर्फ सुन तस्करी हुने गर्छ । दुबईबाट पनि नेपालको विमानस्थल प्रयोग गरी सुन भारततर्फ जाने गरेको उनीहरू बताउँछन् ।

प्रहरीका एक अधिकारीले तस्करीको सुनसम्बन्धी किस्सा सुनाए ।

केही समय अगाडि रसुवागढी नाका हुँदै चीनबाट १० केजी सुन नेपाल भित्रिएको सूचना प्रहरीले पायो । सूचनाका आधारमा प्रहरीले नुवाकोटबाट बारा/पर्सा जाने भनिएको एउटा स्कोर्पियोलाई पिछा गर्न थाल्यो । 

त्यो स्कोर्पियो चितवनतर्फ जान्छ भन्ने प्रहरीको अनुमान थियो, तर धादिङको गल्छीबाट काठमाडौंतर्फ मोडियो । त्यसमा ड्राइभरबाहेक २ जना व्यक्ति थिए । 

गाडीको अगाडि २ वटा मोटरसाइकलमा ४ जना र पछाडि ३ वटा मोटरसाइकलमा ६ जना अगुवापछुवा थिए, तर गाडीमा भएका व्यक्तिलाई थाहा थिएन । 

काठमाडौंबाट पर्सा जाने बस चढेर उनीहरू हिँडे । प्रहरीले नारायणगढबाट पक्राउ गर्ने योजना बनायो । उनीहरू मुग्लिनमै गाडीबाट झरे ।

प्रहरीले खनतलासी गर्दा सुन फेला परेन । अन्त्यमा थाहा भयो, धादिङ झर्ने अर्कै व्यक्ति सुन लिएर झरिसकेको रहेछ ।

मुख्य कारोवारी पत्ता लगाउने ध्याउन्नमा प्रहरीले सुन र तस्कर दुवैलाई नियन्त्रणमा लिन सकेन । भरिया मात्र हात लागे ।

२० दिनपछि उक्त परिमाणको सुन र १ नेपालीसहित (३ भारतीय) ४ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको सूचना प्रहरीलाई आयो ।

यस घटनाबाट पनि नेपाल हुँदै तस्करी हुने प्रायः सुन भारततर्फ जाने गरेको पुष्टि हुन्छ । 

भारतमा १ नम्बरी (२४ क्यारेट)को सुन निकै कम पाइन्छ, र महंगो पनि पर्छ । अर्कातर्फ भारतमा चुनाव हुँदा पैसाभन्दा सुन धेरै प्रयोग हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीकै एक पूर्व वरिष्ठ अधिकारीले बिहारमा चुनावमा नेपाल हुँदै ८० क्विन्टल सुन भारततर्फ लैजान सहजीकरण गरेको आरोप समेत लाग्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्