
मंगलवार नेप्से परिसूचक ५३.३० अंकले बढेको छ । आइतवार १०० अंकले घटेको शेयर बजार सोमवार स्थिर थियो भने मंगलवार भने १.९७ प्रतिशतले बढेर २७५४.२८ बिन्दुमा पुगेको हो ।
बजार बढेका बेला न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । न्यादीको शेयरका सकारात्मक सर्किट लागेको छ । यस बाहेक तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले पनि ८.७० प्रतिशतले कमाएका छन् ।
मंगलवार हिमालयन ऊर्जा विकास कम्पनी, कालिका पावर कम्पनी, चन्द्रागिरि हाइड्रोपावर कम्पनीसहितका लगानीकर्ताले पनि कमाएका छन् । मंगलवार कारोवार भएको शेयरमा कामाउने लगानीकर्ताको सूचीमा हाइड्रोपावर क्षेत्रका लगानीकर्ता छन् ।
बजार बढेको भए पनि एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया ग्रोथ फन्ड, सिटिजन्स म्युचुअल फन्ड, नबिल समृद्धि फण्डसहितका लगानीकर्ताले भने गुमाएका छन ।
मंगलवार २२४ कम्पनीको ६३ लाख ४३ हजार कित्ता शेयरको ४३ हजार ५१९ पटक कारोबार भएको छ । यसबाट जम्मा ३ अर्ब २३ करोड रूपैयाँको मात्रै कारोबार भएको छ ।
बजार बढेको दिन सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको २२ करोड २७ लाख रूपैयाँको शेयर कारोबार भएको छ । यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी ४ लाख ७८ हजार कित्ता शेयरको किनबेच भएको छ ।
बजार बढेको दिन नेप्सेका सबै समूहको सूचकमा हरियाली छाएको छ । यसमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको ४.३२ प्रतिशतले शेयर मूल्य बढेको छ ।