
लुम्बिनी प्रदेश स्थापनाको ४ वर्ष पूरा भएको छ ।
प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले मंगलवार मूल समारोह स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थापना दिवस मनाएको हो ।
संघीय लोकतान्त्रिक संविधान २०७२ ले परिकल्पना गरेको ७ वटा प्रदेशहरूमध्ये लुम्बिनी प्रदेशमा २०७४ फागुन ३ गते सरकारको गठन भएको थियो । सरकार गठन भएको दिन स्थापना दिवसको मूल समारोह मनाउने गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण बृहत् उपस्थिति नगराएको प्रदेश सरकारले औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सोही अवसरमा बोल्दै मुख्यमन्त्री कूलप्रसाद केसीले बितेको ४ वर्ष उपलब्धिको वर्ष भएको बताए ।
प्रदेशलाई समृद्ध बनाउनका लागि जनस्तरमा पुगेर सरकारले काम गरेको केसीको दाबी छ । जनताका आकांक्षालाई पूरा गर्न सरकार निरन्तर लागेको बताउँदै उनले राजनीतिक एकता र सहकार्यको आवश्यक रहेकोमा जोड दिए ।
‘सबै राजनीतिक शक्तिहरूको बीचमा एकता र सहकार्य आवश्यक पर्छ,’ केसीले भने, ‘प्रदेशवासी जनताको गाँस, बास, कपास, शिक्षा स्वास्थ्य लगायत सबै पक्षको सुधार गर्नका लागि निरन्तर प्रतिवद्ध रहेको छ ।’
लुम्बिनी विश्वविद्यालय, स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती अस्पताल, पर्यटकीय क्षेत्र, शैक्षिक क्षेत्रमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, सडक, पुल लगायतय सबैलाई अगाडि प्रदेशले तीव्रताका साथ अगाडि बढाएको केसीको भनाइ छ ।
राजधानी क्षेत्रमा जग्गा एकीकरण गर्नका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गरिने, जसका लागि जग्गा एकीकरण कार्यविधि तयार गर्न थालिएको छ । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ ।
स्थापना दिवसमा गणतन्त्र प्राप्तिमा योगदान पुर्याउने १० वटा विधाका पदकबाट ५७ जनालाई विभूषित गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पदकसहित विभूषित गरेका छन् ।