शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत मंगलवार भएको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र फ्रेन्ड्सबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।
जावलाखेलका लागि लोइक एन्जीमी कोउहिमले २ गोल तथा रुपबहादुर लामाले १ गोल गरेका छन् ।
फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले २ तथा नाथानिल जुड ग्रासियाले १ गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबरी खेलेको हो । खेलको ११औं मिनेटमा लोइकले गोल गर्दै जावलाखेललाई शुरूआती अग्रता दिलाए ।
खेलको ३९औं मिनेटमा लोइकले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे ।
यसैगरी खेलको ४३औं मिनेटमा लामाले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा ३–० को अवस्थामा पुर्याए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फ्रेन्ड्सका नाथानिलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । खेलको ७१औं मिनेटमा फ्रेन्ड्सका जमोलले फ्रिकिकमा गोल गर्दै ३–२ को अवस्थामा पुर्याए ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जमोलले गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए ।
बराबरीसँगै जावलाखेल हालसम्म ११ खेलमा १० अंक जोड्दै ११औं स्थानमा छ । समान खेल खेलेको फ्रेन्ड्स ७ अंकसहित १२औं स्थानमा छ ।