सत्ता साझेदार (माओवादी केन्द्र)ले विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी जबरजस्ती अगाडि बढाइए सरकार छाड्ने चेतावनी दिएको छ ।
माओवादी संसदीय दलको बैठक पछि पार्टीका केन्द्रीय सदस्य गिरिराजमणि पोखरेलले जबरजस्ती एमसीसी अगाडि बढाइए गठबन्धन टुट्ने बताए ।
बुधवार बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने निर्णय गरेको उनले बताए ।
‘हाम्रो महाधिवेशनले नै यथास्थितिमा एमसीसी पास हुँदैन भनेर निर्णय गरिसकेको अवस्थामा हामीले यसको विपक्षमा उभिने निर्णय गरेका छौं । यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन, हामी विपक्षमा जान्छौं,’ पोखरेलले लोकान्तरसँग भने, ‘यो गठबन्धन एमसीसी पास गर्न बनेको होइन । कांग्रेस एक्लैले अगाडि बढाउन खोज्यो भने गठबन्धन सरकार प्रभावित हुनसक्छ ।’
पोखरेलले संसद् नखुलेको अवस्थामा एमसीसी जबरजस्ती टेबुल गर्न नमिल्ने बताए ।
‘बजेट लगायत केही अत्यावश्यक कुरा अवरोधका बीच संसदबाट पास भएको थियो, तर संसद्मा छलफल गर्ने वातावरण नबन्दासम्म एमसीसी टेबुल गर्नुहुँदैन भन्ने पार्टीको निर्णय हो,’ पोखरेलले भने ।
प्रतिनिधि सभाको बैठक बुधवार दिउँसो १ बजे बस्दैछ । बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरिरहेको छ ।