
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै खनालले भने, ‘असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन । धाकधम्की दिएर हुँदैन ।’
खनाल सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताका सन्दर्भमा अध्ययन गर्न र साझा धारणा बनाउन भनेर गठन गरेको कार्यदलका संयोजक हुन् । त्यसअघि नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलको पनि खनाल नै संयोजक रहेका थिए ।
त्यसबेला उनीहरूले एमसीसीमा उल्लेख भएका कतिपय प्रावधान संशोधन नगरी संसदबाट अनुमोदन गर्न नहुने प्रतिवेदन दिएका थिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले असहमति भएको विषयमा गठबन्धन दल, सडक र सदनमा पनि विरोध हुने बताए ।
एमसीसीसँगको अनुदान सम्झौता संसद्मा पेस गर्ने सम्बन्धमा सत्तारुढ गठबन्धनकै दलहरूबीच एकमत नभएको कारण अहिले त्यो अघि बढ्न नसक्ने खनालले बताए ।
पछिल्लो समय खनालले एमसीसी फिर्ता हुनपर्ने निष्कर्षमा आफू पुगेको बताउने गरेका छन् ।