०९ साउन २०८३, शनिबार

बल प्रयोग गरेर एमसीसी पास हुँदैन– झलनाथ खनाल

बल प्रयोग गरेर एमसीसी पास हुँदैन– झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन् । 

प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा संक्षिप्त  प्रतिक्रिया दिँदै खनालले भने, ‘असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन । धाकधम्की दिएर हुँदैन ।’

खनाल सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताका सन्दर्भमा अध्ययन गर्न र साझा धारणा बनाउन भनेर गठन गरेको कार्यदलका संयोजक हुन् । त्यसअघि नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलको पनि खनाल नै संयोजक रहेका थिए ।

त्यसबेला उनीहरूले एमसीसीमा उल्लेख भएका कतिपय प्रावधान संशोधन नगरी संसदबाट अनुमोदन गर्न नहुने प्रतिवेदन दिएका थिए ।  

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले असहमति भएको विषयमा गठबन्धन दल, सडक र सदनमा पनि विरोध हुने बताए । 

एमसीसीसँगको अनुदान सम्झौता संसद्मा पेस गर्ने सम्बन्धमा सत्तारुढ गठबन्धनकै दलहरूबीच एकमत नभएको कारण अहिले त्यो अघि बढ्न नसक्ने खनालले बताए ।

पछिल्लो समय खनालले एमसीसी फिर्ता हुनपर्ने निष्कर्षमा आफू पुगेको बताउने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्