
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग कार्य सम्झौता गरेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न नगरपालिकाले आयोगसँग बुधवार कार्यसम्झौता गरेको हो ।
नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली आयोगको काठमाडौंस्थित कार्यालयमै पुगेर कार्यसम्झौता गरेसँगै अब भूमि समस्या समाधानका बाँकी काम अघि बढ्ने छन् ।
नगरपालिकामा अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत् भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत संकलन भइसकेको छ ।
संकलित तथ्यांक इन्ट्री गर्ने र जग्गा नापजाँचका लागि ‘कन्ट्रोल पोइन्ट’ राख्ने कार्य जारी रहँदै गर्दा अघिल्लो आयोग विघटन भएपछि ती कार्य रोकिएका थिए ।
वर्तमान सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेसँगै अब प्रक्रियाअनुसार भूमि समस्या समाधानको काम अघि बढ्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकामा झण्डै ८ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फाराम भरेका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रूपमा ७ हजार ९१८ जनाले लगत संकलन फाराम भरेका नगरपालिकाले जनाएको छ ।