शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुंगिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल संघ) कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिलाएका थिए ।
टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५औं मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले आशिष गुरुङको पासमा गोल गरेका हुन् ।
खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोलकिपर विकेश कुथुले रातोकार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर फउल गरेपछि रेफ्री नवीन्द्र मर्हजनले विकेशलाई रातो कार्ड दिएका थिए ।
यस बराबरी खेलसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ । आर्मी अंक तालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ । समान खेलको हिमालयन शेर्पाको १२ अंक भएको छ ।
हिमालयन शेर्पा अंक तालिकाको आठौं स्थानमा रहेको छ ।