
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सामान्यतयाः सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । यो हप्ताको सोमवार मन्त्रिपरिषद् बैठक बसेको थिएन ।
सत्तारूढ गठबन्धनमा एमसीसी पेचिलो विषयको रूपमा आएकाले देउवाले बोलाएको बिहीवारको मन्त्रिपरिषद् बैठक वर्तमान गठबन्धन सरकारको अन्तिम बैठक पनि हुनसक्ने सम्भावना छ ।
बिहीवारको मन्त्रिपरिषद् बैठकमा पनि एमसीसीकै विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीले बुधवारको संसद बैठकमा एमसीसी प्रस्तुत गर्ने तयारी गरेको भए पनि अन्तिम समयमा आएर पछि हटेका थिए । शुक्रवारको संसद बैठकमा एमसीसी प्रस्तुत गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
गठबन्धनमा रहेका दलहरूले बिहीवार गठबन्धनमा एमसीसीबारे निर्णायक छलफल गर्ने बताएका छन् । यथास्थितिमा एमसीसी अगाडि बढाएर नेकपा माओवादी केन्द्रले सरकार र गठबन्धन छाड्ने निर्णय गरिसकेको छ ।
गठबन्धनमा एमसीसीबारे कुरा नमिल्दा गठबन्धन भत्कनसक्ने भएकाले बिहीवारको मन्त्रिपरिषद् बैठक वर्तमान गठबन्धन सरकारको अन्तिम हुनसक्छ ।
दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धनको बैठक साँझ ५ बजेको लागि सारिएको छ ।