ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् ।
मन्त्रालयमा बिहीवार भएको भेटमा आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।
महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र बढ्दो भूमण्डलीय तापक्रम वृद्धि नियन्त्रण गर्नका लागि हिमालयको महत्त्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले भने, ‘हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौं ।’
ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलासययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बूढीगण्डकी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन् ।
जलविद्युत् स्वच्छ ऊर्जा भएकाले यसको प्रवद्र्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताइन् ।