
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद इन्जिनीयर मोहन आचार्यले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।
विगतमा कांग्रेस, एमाले, माओवादी नेतृत्वको सरकारले एमसीसीबाट सहयोग लिने प्रक्रियालाई निरन्तर अगाडि बढाएको उल्लेख गर्दै उनले सत्तामा हुँदा एउटा कुरा र विपक्षमा हँुदा अर्को कुरा गर्ने नेपाली राजनीतिको दोहोरो चरित्रले एसीसीलाई गिजोलेको बताए ।
बिहीवार आयोजित एक कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसले सत्तामा रहँदा पनि र प्रतिपक्षमा रहँदा पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको कुरा गर्दै आएको छ ।’
नेता आचार्यले नेपाललाई आवश्यक पर्ने आयोजना छनोटका लागि नेपाल सरकार र एमसीसीको संयुक्त लगानीमा सञ्चालन हुने ६३ करोड अमेरिकी डलरको पूर्वाधार आयोजना व्यवस्थापनका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) स्थापना भएको भन्दै सो विकास समिति नेपालको विकास समिति ऐन २०१३ अनुसार स्थापित भएको बताए ।