
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले शेयर बजारको स्थायित्व र साना लगानीकर्ताको संरक्षणका लागि काम गर्ने बताएका छन् ।
अहिलेको समयमा काम गर्न निकै चुनौती हुनसक्ने भए पनि आफूले बजारको स्थायित्व र विविधीकरणमा जोड दिँदै काम गर्ने पनि हमालले बताए ।
उनले लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘मेरो पहिलो एजेन्डा नै बजारमा नयाँ र फरक प्रोडक्ट आउनुपर्छ भन्ने हो । अन्य क्षेत्रका आर्थिक गतिविधिका कम्पनी पनि नेप्सेमा सूचीकृत होऊन् भन्ने हो । यसका लागि धेरै टुल्स हुनुपर्छ भन्ने चाहना राखेर काम गर्छु ।’
बजारमा स्थायित्व दिने पाटोलाई पनि पूरा गर्नुपर्ने हुँदा त्यसप्रति आफ्नो लगाव हुने पनि हमालले बताए । हमालले भने, ‘मेरा लागि साना लगानीकर्ताको संरक्षण अर्को एकदमै महत्त्वपूर्ण कुरा हो ।’
साना लगानीकर्ताको संरक्षण नगरी बजार स्थिर नहुने र यसले गति लिन नसक्ने बुझाइ हमालको छ । उनी भन्छन्, ‘संसारका हरेक मुलुकमा भइरहेको र हामीले देखेको पनि लगानीकर्ताको दायित्व, सहजता, पारदर्शिता सहितमा स्पष्टता देखिन्छ, त्यहाँको बजार स्वस्थ रूपमा बढ्ने गर्छ । हाम्रो लक्ष्य पनि बजार स्वस्थ रूपले अगाडि बढोस् भन्ने नै हो ।’
अपेक्षा गरे अनुसारको काम गर्न धितोपत्र बोर्डलाई पहिले सक्षम र चुस्तदुरुस्त पनि बनाउनुपर्ने हमालले बताए । ‘अहिले घरघरमा शेयरका लगानीकर्ता पुगेका छन्, यी सबैको संरक्षण र सुरक्षा पनि अबको प्राथमिकता हुनैपर्छ,’ उनले भने ।
हमाल लामो समय थाइल्याण्ड लगायत देशमा बस्दै आएका थिए । पछिल्लो करीब ३ वर्षदेखि भने नेपालमा उनको नियमित बसाइ छ । सरकारले आगामी ४ वर्षका लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेका धनगढीका हमाल इन्भेस्टमेन्ट म्यानेजमेन्टमा दख्खल भएका व्यक्ति हुन् । हमाल ओमस्टोन एसियाका अध्यक्ष हुन् ।
उनले नेपालमा थाइल्याण्डको दुसितथानीको ब्राण्डमा थुलिखेलमा हिमालयन रिसोर्ट एण्ड स्पामा लगानी गरेको छन् ।
एसिया क्षेत्रको रियल स्टेट र हस्पिटालिटीको क्षेत्रमा काम गरेका हमाल गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डका पूर्व अध्यक्ष हुन् । हमालसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी, रियल इस्टेट लगायत विभिन्न क्षेत्रमा २ दशकभन्दा लामो समयको अनुभव छ ।