कोरोनाका कारण दुई सातादेखि हलमा कुनै पनि चलचित्र प्रदर्शन भएका थिएनन् ।
यसै साता फागुन १ गतेबाट पुनः प्रदर्शनमा आएको चलचित्र हो– 'चपली हाइट–३’ ।
कोरोनाले भनौँ या अन्य चलचित्रसँगको प्रतिस्पर्धाको डरले चलचित्र निर्माता अर्जुन कुमारले चलचित्र प्रदर्शनको मिति बारम्बार पछाडि सारेका थिए।
यसले चलचित्रबारे दर्शकमा खुब चासोसमेत बढेको थियो । तर, दर्शकको चासोलाई चलचित्र निर्देशक निकेश खड्काले खल्लो बनाइदिएका छन् ।
एक त अहिले चलचित्र हलमा दर्शक तान्न नै कठिन छ, त्यसमाथि चलचित्रको कथा मजबुत नहुनुले चलचित्रले पानीसमेत माग्न पाउँदैन ।
यही हालत छ– चलचित्र 'चपली हाइट–३’ को ।
कथामा कुनै नयाँपन छैन । उही पहिलेकै दुई शृङ्खलामा झैँ पुरानै कथामा अल्झिएको छ, चलचित्र ।
चलचित्रमा कथाको सुरुवात हुन्छ, चपली हाइटमा घटेको आपराधिक घटनाबाट ।
पानी परिरहेको समय साँझ पार्टीबाट फर्किरहेकी नायिका श्रद्धा (स्वस्तिमा खड्का)माथि तीन जनाले शारीरिक शोषण गर्न प्रयास गर्छन् ।
ठीक त्यही समय चलचित्रका नायक भनौँ या छोटो भूमिकामा देखिएका कलाकार पारस (आमिर गौतम) त्यहाँ आइपुग्छन् र श्रद्धालाई बचाउन खोज्दा समूहका केटाहरूबीच भएको कुटाकुटका कारण उनको मृत्यु हुन्छ ।
श्रद्धा पारसको हत्याको साक्षी बन्न पुग्छिन् । श्रद्धा र पारसको हत्याभित्रै रुमलिएको छ, चलचित्रको कथा ।
चलचित्रका अर्का मुख्य पात्र छन्– प्रह्लाद मिश्र (महेश त्रिपाठी) जो पुलिस अफिसरको भूमिकामा छन् ।
उनले पारसको हत्याको आरोपी पत्ता लगाउन अनेकन तिकडम अपनाउँछन् । तर, उनको प्रयास सधैँ असफल हुन्छ ।
चलचित्र स्वस्तिमा र महेश त्रिपाठीका लागि मात्र बनाइएको हो जस्तो पनि लाग्छ ।
चलचित्रका अन्य कलाकार सुपुष्पा भट्ट, लक्ष्मी बर्देवा र दीपाश्री निरौलाको भूमिका औसत लाग्छ ।
छिटपुट दृश्यमा देखिने कलाकार अर्पण थापाको अभिनयले भने पक्कै दर्शकलाई हलसम्म तान्न सहयोग गर्छ । प्राविधिक रूपले पनि चलचित्र राम्रो बनेको छ ।
पुरुषोत्तम प्रधानको छायाङ्कनले चलचित्रलाई केही हदसम्म उचाइको बिन्दुमा पुर्याउन अवश्य मद्दत गर्छ । चलचित्रमा लेखक कुमार नगरकोटीको पुस्तक 'मिस्टिका’ले पनि ठाउँ पाएको छ ।
निर्देशक निकेश खड्काले चलचित्रलाई थ्रिलर जनरामा बनाउन त खोजेको हो तर उनको कमजोरी चलचित्रमा धेरै ठाउँमा झल्किन्छ ।
चलचित्रमा पहिला हत्याको कुरा देखाइन्छ, त्यसपछि बलात्कारको विषय । हत्या र बलात्कारको विषयसँगै कथा फेरि हीरा तस्करीतर्फ मोडिन्छ । यसले दर्शकलाई थप अन्योलतर्फ लैजान्छ ।
चलचित्रको कथामा नयाँपन र वाचन शैलीमा कलात्मकता दुवै गायब छ ।
अधिकांश दृश्य कि पुलिसथानामा खिचिएको छ कि त डिस्कोमा । चलचित्रको गीत औसत लाग्छ ।
निर्देशकले चलचित्रमा पस्कन खोजेका कुरा राम्रो हो तर सबै कुरा एकैपटक दिन खोज्नाले चलचित्रको कथालाई कमजोर बनाएको हो कि ? गोरखापत्र दैनिकमा सुकृत नेपालले खबर लेखेका छन् ।