
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । हाल भैरहवा विमानस्थलका रूपमा आन्तरिक उडान सेवा मात्र प्रदान गरिरहेको यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सन् २०१२ देखि पहल सुरु गरिएको हो ।
सन् २०१४ जनवरीदेखि निर्माण सुरु भएको विमानस्थल सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर भूकम्प, ठेकेदारले भनेअनुसार काम गर्न नसक्नुजस्ता कारणले निर्माण अवधि पूरा गर्ने समयसम्म यसको एक चौथाइ भौतिक प्रगति पनि हुन सकेन ।
त्यसपछि आयोजनाको मुख्य वित्तीय सहयोगी एसियाली विकास बैङ्क (एडीबी)ले यसबाट अलग हुने निर्णय गरेको थियो । यद्यपि नेपाल सरकारले आयोजना सम्पन्न गर्ने प्रतिबद्धताका साथ काम अघि बढाएपछि आयोजनाले निरन्तरता पाएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यसको धावनमार्ग तीन किलोमिटर रहेको छ । पहिलो चरणमा कार्गो भवन निर्माण तथा विमानस्थल टर्मिनल भवन, एटीसीलगायतका काम सम्पन्न भएका छन् ।
यो टर्मिनलको वार्षिक २० लाखसम्म हवाई यात्रुलाई सेवा दिने क्षमता छ । विमानस्थलमा वाइड बडी जहाज अवतरण गर्न सक्छन् ।
काठमाडौँमा मौसमको खराबीका कारण अवतरण हुन नसकेको जहाज पनि यो विमानस्थलमा अवतरण गर्न सक्छन् ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा बढी यात्रुलाई उडान सेवा प्रदान गर्नु परिरहेको अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यसको विकल्पका रूपमा हेरिएको छ । गोरखापत्र दैनिकमा विश्वास रेग्मी र लक्ष्मण पौडेलले खबर लेखेका छन् ।