
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाका लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन् ।
उनले एमसीसीजस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् । उनले सरकारमा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रीपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताइन् । मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरूबाट सरकार टाढा रहनु उचित हुने पनि बताइन् ।
‘प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेन्ट हो,’ उनले भनिन्, ‘त्यसप्रतिको दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनु भएको छ । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन ।’