
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले कुरा मिल्दा मात्र गठबन्धन चल्ने र कुरा नमिल्दा गठबन्धन भत्किने प्रतिक्रिया दिएका छन् ।
शुक्रवार संसद बैठकमा सहभागी भएर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, ‘हामी बीचमा कुरा मिल्यो भने गठबन्धन चलिरहन्छ । कुरा मिलेन भने गठबन्धन चल्दैन । कुराकानी नमिल्ने, गठबन्धन पनि चलिरहने हुँदैन ।’
उनले भने, ‘हामी अहिले गठबन्धनमा छौं त्यसलाई अघि बढाउने पक्षमा नै छौं तर यसो भनिरहँदा के याद गर्नुपर्छ भने विभिन्न पार्टी गठबन्धनमा छौं । हामी बीचमा कुरा मिलेर गठबन्धन बन्यो ।’
फरक–फरक राजनीतिक दल भएका गठबन्धन हुनको लागि त न्यूनतम विषयमा कुराहरू मिल्नुपर्ने उनले बताए ।
‘एमसीसीमा एक ठाउँमा उभिन सक्दैनौँ भने टेबुल गरौँ आ–आफ्नो ठाउँमा मतदान गर्न सक्छौं,’ थापाले भने, ‘वैकल्पिक सरकार दिन सक्छौं । सँगै हिँड्न सक्छौं भनेर गठबन्धन बनेको हो । यो एउटा विषयको लागि बनेको पनि होइन । एउटा विषयको लागि भत्किनुपर्छ भन्ने पनि होइन ।’
एमसीसी टेबुल गरेपछि पक्ष कि विपक्षमा मतदान गर्ने भन्नेमा प्रत्येक दल स्वतन्त्र भएको उनले बताए ।
थापाले भने, ‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन ।’
थापाले एमसीसीको बारेमा जे गर्नुपर्ने हो त्यो संसदबाटै गर्नुपर्ने बताए । ‘एमसीसी संसदमा टेबल गरौं । बुँदाबुँदामा छलफल गरौं । दूधको दूध पानीको पानी हुनेगरी बहस गरौं । एमालेले संसद रोक्नु उसको अर्को कारण छ । उसले पनि एमसीसीका सन्दर्भमा आफ्नो धारणा स्पष्ट गरोस् जे गर्ने हो संसदबाटै गरौं,’ महामन्त्री थापाले भने ।
कांग्रेसले अहिल्यै गठबन्धनको विकल्प नखोजेको तर, एमसीसीका नाममा लामो समय अलमल गर्ने अवस्थामा पनि कांग्रेस नरहेको थापाले बताए ।
‘हामी विकल्पको कुरा गरिरहेका छैनौं । अहिलेकै गठबन्धन सरकारले संसदमा एमसीसी लानुपर्छ । त्यसमा दलहरुले आफ्नो स्ट्याण्ड देखाउनुपर्छ । पास फेल जे भएपनि निष्कर्ष दिनुपर्छ भन्ने कांग्रेसको बुझाई हो । यदि एजेण्डामा सँगै रहेनौँ भने सरकारमा सँगै रहन्नौँ भन्ने त सबैले बुझ्ने विषय भयो,’ थापाले भने ।