इनरुवा, १९ असार– सुनसरीको भोक्राहा गाउँपालिकाको अध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव विजयी भएका छन् ।
आज बिहान घोषणा गरिएको नतिजाअनुसार यादवले नेपाली काँग्रेसका अजमल अख्तर अजादलाई एक हजार ५३५ मत अन्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् ।
यादवले तीन हजार ५२८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजमल अख्तर अजादले एक हजार ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पीताम्बर गौतमले जानकारी दिए ।
त्यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै पुनम मेहता विजयी भएकी छन् । उनले तीन हजार ३४३ मत जीत हासिल गरेकी हुन् ।
उनले काँग्रसकी अञ्जु मेहतालाई एक हजार ३८ मत अन्तरले पराजित गरिन् । कांग्रेसकी अञ्जुले दुई हजार ३०५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी भोक्राहा गाउँपालिकाका वडाध्यक्षहरुमा – १ मा एमालेका ललित थापा, २ मा नेपाली काँग्रेसका आलम मियाँ, ३ मा सङ्घीय समाजवादीका सुकदेव यादव, ४ मा काँग्रेसका हारुन अन्सारी, ५ मा एमालेका वसरुदिन मियाँ, ६ मा सङ्घीय समाजवादीका राजेश्वरप्रसाद यादव, ७ मा रामचन्द्र यादव, विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।