२८ जेठ २०८३, बिहीबार

कोहलपुरमा १० तले भ्युटावरको निर्माण तीव्र

फागुन ७, २०७८
कोहलपुरमा १० तले भ्युटावरको निर्माण तीव्र

पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौंस्थित धरहराको झल्को दिने गरी १० तले भ्युटावर (दर्शनटुप्पो) को निर्माण तीव्र गतिमा भइरहेको छ ।

कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माणाधीन लिफ्ट सहितको सुविधा सम्पन्न सो दर्शनटुप्पोको निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भइसकेको र बाँकी काम पनि जारी रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।

समग्र पश्चिम नेपाल मात्र नभई भारतीय नागरिकलाई समेत आकर्षित गर्नेगरी नगरपालिकाको गौरवको योजनामा पारेर अत्याधुनिक दर्शनटुप्पोको निर्माण कार्य भइरहेको उनले बताए ।

१० तलाको उचाइसहित निर्माण भएको दर्शनटुप्पोमा समयको जानकारी गराउने उद्देश्यले ठूलो घडी राखिने बताउँदै रावतले लिफ्टबाट माथि जान सकिने र दर्शन टुप्पोबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने बताए । अधिकांश निर्माण पूरा भइसकेको र लिफ्ट जडानसहित रंगरोगन र सजावटको काम मात्र हुन बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । ५ करोड ८८ लाख रुपैयाँको लागतमा अत्याधुनिक दर्शनटुप्पो निर्माण भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

दर्शनटुप्पोले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले बताए । उनले टावर पूर्ण रूपमा निर्माण भएर सञ्चालनमा आएपछि यसलाई हेर्न हजारौँ स्वदेशी र भारतीय नागरिक आउने बताए । ९ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी दर्शनटुप्पो निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनीयर बालकृष्ण महतराले जानकारी दिए ।

एकैपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट जडान गरिने बताउँदै उनले दृश्यवलोकनका लागि एक पटकमा ५० जना जान सक्ने क्षमता हुने जनाए ।

कोरोना महामारीका कारण निर्धारित समयमा निर्माण कार्य पूरा नहुँदा निर्माण कम्पनी जय भवानीले थप ६ महिना म्याद थपको माग गरेको छ । भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भए पनि अन्तिम फिनिसिङ कार्य सम्पन्न गर्नका लागि ६ महिना म्याद थपको माग गरिएको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए ।

निर्माण नसकिँदै दर्शनटुप्पो अवलोकन गर्न ठूलो संख्यामा सर्वसाधारण पुग्न थालेको स्थानीय वासिन्दाले जनाएका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्