०२ असार २०८३, मंगलबार

बन्द हाटबजार खुलाइयो

बन्द हाटबजार खुलाइयो

कोभिड–१९ को सङ्क्रमण जिल्लामा बढ्न थालेपछि महिना दिनअघि अनिश्चितकालीन बन्द गरिएका जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित हाटबजार खुला गरिएको छ । 

कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि गत माघ–६ गतेदेखि अनिश्चितकालीन बन्द गरिएका खोटाङ जिल्लास्थित सबै स्थानीय तहका हाटबजार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)को शुक्रबार बसेको बैठकले खुला गर्ने निर्णय गरेको हो । 

कोभिड–१९ को सङ्क्रमणको घट्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्ने तथा एकै स्थानमा २५ भन्दा बढी उपस्थित नहुने गरी हाटबजार खुला गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिकरुपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषिउपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय कृषक मारमा पर्ने गरेका छन् ।

यसअघि गत माघ २७ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीएमसी)को बैठकले २४ दिनपछि हलेसी मन्दिर खुला गर्ने निर्णय गरेको थियो । डिसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको अध्यक्षतामा बैठकले गत आइतबारदेखि हलेसी मन्दिरसहित जिल्लास्थित मठमन्दिर, गुम्बा, चर्च र विद्यालयसमेत खुला गर्ने निर्णय गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्