काठमाडौं, १८ पुस-नेपाल विद्युत् प्राधिकरणले मुलुकभर लोडसेडिङ (विद्युत् कटौती) नगर्न गृहकार्य सुरु गरेको छ । हाल काठमाडौं उपत्यकाको मात्रै लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले सुक्खा यामपश्चात् विद्युत् सञ्जाल पुगेको कुनै पनि भागमा लोडसेडिङ नगर्ने योजना बनाएको हो, राजधानी दैनिकमा खबर छ ।

प्राधिकरणले यसका लागि आन्तरिक तथा बाह्य दुवैतर्फको प्रसारण लाइनको मर्मत–सम्भार पूर्ण रूपमा सम्पन्न गर्ने, पिक आवरमा भारतसँग थप विद्युत् आयातका लागि आवश्यक व्यवस्था मिलाउने, वर्षा यामसँगै आन्तरिकतर्फ सबै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने र उपभोक्ता सचेतना अभियानलाई थप प्रभावकारी बनाउनेलगायतका योजनासहित काम सुरु गरेको हो । यसै वर्षको हिउँदमा यी सबै काम नसकिने हुनाले उपत्यकाबाहिरको हकमा यसपटक एकाध घण्टा मात्र लोडसेडिङ हुने र वर्षायाम सुरु भएलगत्तै त्यसलाई हिउँदमा समेत निरन्तरता दिने गरी आवश्यक प्रबन्ध मिलाउने प्रस्ट योजनासहित प्राधिकरणले तयारी सुरु गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालका लागि उपत्यकामा मात्र हटाइएको लोडसेडिङलाई देशव्यापी बनाउन आवश्यक प्रक्रिया सुरु भइसकेको बताए ।