
जिल्ला वन कार्यालय सिमरा बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार घिमिरे, तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरप्रसाद पटेल, सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
उनीहरूमाथि वृक्षारोपण गर्न विनियोजित रकम वृक्षारोपणसमेत नगरेर हिनामिना गरेको पुष्टि भएकाले आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
तत्कालीन जिल्ला वन कार्यालयले आर्थिक वर्ष २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षरोपणका लागि तीन लाख ६० हजार रूपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
घिमिरे, पटेल र जोशीविरुद्ध सार्वजनिक खरिद ऐनविपरीत तोक आदेश, रकम भुक्तानी दिन कार्यालय प्रमुखसमक्ष सिफारिस एवं तोक आदेशका आधारमा सम्झौताको शतप्रतिशत भुक्तानी दिएको र सोही आधारमा सो रकम बराबरको हिनामिना भएको अख्तियारले आरोप लगाएको छ ।
यस्तै जैसवारविरुद्ध वृक्षारोपण गर्नका लागि पेश्की रकम लिएर सम्झौताविपरीत तारबारसमेत नगरी स्थानीय मानिसलाई काम लगाएजस्तो गरेर झारो टार्ने किसिमले वृक्षारोपण गरी रहक हिनामिना गरेको पुष्टि भएको अख्तियारको भनाइ छ ।
उनीहरूविरुद्ध तीन लाख ६० हजार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।