
स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालबाट आफूखुसी नगर प्रमुखका लागि उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले आग्रह गरेको छ ।
कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बाँस्तोला ‘विशाल’ले आज विज्ञप्ति जारी गर्दै पार्टीको गरिमामा आँच नपुगोस् भन्नेतर्फ सजक हुन आग्रह गरेका हुन् । स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै कांग्रेसका तर्फबाट पोखरा महानगरमा नगर प्रमुख पदका लागि उम्मेदवारमा आकांक्षी बढेका छन् भने कतिपय कार्यकर्तामार्फत नाम सार्वजनिक गराएका छन् । त्यस्तै कतिपयले सामाजिक सञ्जालमार्फत स्वघोषणा गरेका छन् ।
कांग्रेसको विधान, २०१७ तथा नवौँ संशोधन, २०७५ तर्फ कार्यकर्ताको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा “नेपाली कांग्रेसको सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेदवारको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि पार्टीको नामसँग जोडेर कुनै पनि पदका लागि सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेदवारी घोषणा गर्न गराउन र नगर्न नगराउन हुन पोखरा महानगरपालिका कार्यसमिति अनुरोध गर्दछ” भनिएको छ ।