१० असार २०८३, बुधबार

कलेजोको दीर्घरोग हुन नदिन के गर्ने ?

फागुन ११, २०७८
कलेजोको दीर्घरोग हुन नदिन के गर्ने ?
प्रतिकात्मक तस्वीर

सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् ।

शुरूआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ । 

भरतपुर अस्पतालका हेपाटोलोजिस्ट डा. रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउँछन् ।

ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उनको भनाइ छ । 

नेपालमा कलेजो रोगको विषयको ज्ञान भएका कमै चिकित्सक रहेका छन् । यसै विषयमा डीएम गरेका श्रेष्ठले नेपालमा ९ जनाले मात्रै हेपाटोलोजिमा डीएम गरेका चिकित्सक रहेका जानकारी दिए ।

वीर अस्पतालबाट डीएम सकेपछि छात्रवृत्ति करारमा चितवन आएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिए ।

बिहान–बेलुकाको समयमा मौलाकालिका अस्पतालमा सेवा दिँदै आएका श्रेष्ठले भने, ‘सामान्य लक्षणलाई बेवास्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउने गरेको छ ।’

उनले अगाडि थपे, ‘कलेजो रोग लागेपछि लक्षण देखिएकै हुन्छन् तर हल्का रूपमा लिँदा पछि गम्भीर बन्न सक्छ ।’ उनले अगाडि भने, ‘बिरामीले शुरूकै अवस्थामा गम्भीर रूपमा नलिँदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ ।’ 

सामान्य भाषामा भन्नु पर्दा जण्डिस् (पहेंलो रोग) लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षण भएको उनको भनाइ छ । कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रंग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षण देखिने गरेको श्रेष्ठले बताए ।

कलेजो रोगबाट बच्नका लागि खानपिनमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउँदै उनले भने, ‘पोषिलो खानेकुरा खानुपर्छ । सामान्यतया हाम्रो भान्सामा पाक्ने माछा, मासु, अण्डा, गेडागुडी, सागसब्जी, फलफूल, दाल भात तरकारी सबै खान सकिन्छ । यस्ता खानेकुराले नै कलेजोलाई बलियो बनाउँछ ।’

धूम्रपान, मद्यपान, लागूपदार्थ जस्ता वस्तुले कलेजोलाई हानी गर्ने भन्दै उनले भने, ‘कलेजो रोगका बिरामीले यस्ता वस्तु बार्नैपर्छ, अर्थात् खानै हुँदैन । यी वस्तुको सेवनले कलेजोको दीर्घरोग बनाउँछ ।’

salt training

कमेन्ट गर्नुहोस्