
नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग खेपेका अभिनेता पल शाह प्रहरीको खोजीको सूचीमा छन् । उनलाई खोज्न प्रहरी परिचालन भएको जनाइएको छ । १७ वर्षीया गायिकाले आफूलाई शाहले पटक पटक बलात्कार गरेको दाबी सहित जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गराएकी थिइन् । त्यससँगै प्रहरीले अनुसन्धान पनि तीब्र बनाएको छ ।
बलात्कार जस्तो जघन्य मुद्दामा जाहेरी परेसँगै शाहलाई अब पक्राउ पर्नबाट कसैले रोक्ने छैन । केही महिनाअघिदेखि नै शाह र ती गायिकाबीचको सम्बन्धको खबर बाहिरिएका थिए । बीचमा मिलापत्रका कुराहरु बाहिर आएपनि अन्ततः पीडित भनिएकी गायिका प्रहरीसम्म पुगेकी हुन् ।
पल शाहमाथिको अभियोग पुष्टि भए कानुनअनुसार १० देखि १२ वर्ष कैद सजाय हुने छ । मुलुकी अपराधसंहिताको करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ अनुसार उनलाई यो कैद सजाय हुने भएको हो । साथै शाहले पीडितको माग बमोजिम क्षतिपूर्ति पनि भर्नुपर्नेछ । ‘१६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने’ संहितामा भनिएको छ । शाहविरुद्ध उजुरी दिने गायिका हाल १७ वर्ष उमेरकी छिन् ।
०००००
उत्तरी छिमेकी चीनले अमेरिकाकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे फेरि टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले एमसीसीसँगको सम्झौता हेर्दा राम्रो भएपनि यसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने टिप्पणी गरेकी हुन् ।
‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ’, उनले टिप्पणी गरिन्, ुयस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो छ, तर चपाउन मासुजस्तै गाह्रो छ ।’
सहयोग दिँदा आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने गरी दिनुपर्ने उनको भनाइ छ । अर्काको देशको सार्वभौमसत्ता र हितलाई हानी र्पुयाउने गरी कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्न नहुने पनि उनको धारणा छ ।
००००
नेपाली कांग्रेसको हुन बाँकीमध्ये अधिकांश जिल्लाको अधिवेशन फेरि स्थगित हुने भएको छ । काँग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन फेरि स्थगित गरेको हो । काँग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो ।
तर, समितिले पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमका कारण १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन फागुन २० गतेभित्र सम्पन्न गर्नेगरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।
००००
न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।
बैठकले उच्च अदालतका न्यायाधीशहरूलाई काजमा खटाउन सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटन हेटौंडा इजलास, नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा काजमा खटाउने निर्णय गरिएको छ ।
००००
नेपाल राष्ट्र बैंकले घरजग्गा, गाडी र शेयर कर्जामा १५० प्रतिशतसम्मको जोखिम भार तोकेर एकीकृत निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले उक्त क्षेत्रलाई अनुत्पादक मानेर बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रियलस्टेट, हायर पर्चेज, पर्सनल ओभरड्राफ्ट र मार्जिन प्रकृतिको ऋणमा प्रवाह हुने कर्जामा थप कडाइ गर्ने गरी जोखिम भार बढाएको हो ।
००००
सुरक्षा प्रबन्ध र विमानस्थलको समग्र व्यवस्थापन चुनौती दिँदै अत्यन्त संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यस्तो घटना भएको छ, जसले विमानस्थल सुरक्षाको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।
गत सोमबार राति ९ बजेर ४५ मिनेटको समयमा कतार उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडी विमानमा एक युवक विना टिकट, विना पासपोर्ट विमानको बिजनेस क्लासमा पुगे ।
क्याप्टेन विजय लामा नेतृत्वको चालक दलले विमान उडाउने तयारी गरिरहेकै अवस्थामा रौतहटका १८ वर्षीय अस्पम आलम विमानको बिजनेस क्लासमा सिटमै बसिसकेका थिए । उनलाई पछि पक्राउ गरिएको छ भने प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
००००
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् ।
बुधवार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन् ।
००००
पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार कूल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधवार काठमाडौंमा ६७, ललितपुरमा १० र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना निको भएर थप ९११ जना निको भएर डिस्चार्ज भएका छन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका जनाएका छन् ।
अमेरिकी सहयोगको एमसीसी विवादका कारण सत्तारुढ गठबन्धनमा दरार उत्पन्न भएका बेला प्रचण्डको फेसबूक पेजमा लेखिएको छ, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्भूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’
००००
अमेरिकी सहयोगको एमसीसी सम्झौताबारे छलफल हुने संसद बैठकको अघिल्लो दिन नेताहरूको दौडधूप बढेको छ ।
एमसीसीबारे छलफल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहीवार दिउँसो १ बजेका लागि संसद बैठक बोलाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेका कारण बिहीवारको बैठकमा एमसीसीमाथि कसरी छलफल हुन्छ भन्ने संशय बाँकी नै छ ।
मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार नै गएका थिए ।