काठमाडौँ, २० असार- असारको सुरूवातसँगै घर बनाउन थाल्ने भूकम्प पीडितको सङ्ख्या ह्वात्तै बढेको छ ।
भूकम्पका कारण भत्किएका निजी आवास पुनर्निर्माणमा ढिलाइ भयो भन्ने चौतर्फी आलोचना भइरहेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार असार १ गतेदेखि यता मात्र पहिलो किस्ताको रकम बुझेका ३१ हजार ५३५ भन्दा बढी भूकम्प पीडितले यसै महिना घर बनाउन सुरू गरेका छन्, गोरखापत्रमा खबर छ ।
यसअघि ९७ हजार ७४ भूकम्प पीडितले सरकारले तोकिदिएको मापदण्ड अनुसारको घर बनाइरहेको तथ्याङ्क प्राधिकरणको छ । त्यस्तै २९ हजार ६८५ पीडितले तोकिएको मापदण्ड पूरा गरेरै घर निर्माण गरिसकेका छन् ।
प्राधिकरणले पहिलो किस्ता बुझेर पनि घर बनाउन सुरू नगरेका भूकम्प पीडितलाई घर बनाउन सुरू गरेर असार मसान्तभित्र नै दोस्रो किस्ताको रकम बुझिसक्न बारम्बार आग्रह गरेपछि उत्साहजनक रूपमा घर निर्माण थालिएको प्राधिकरणले जनाएको छ । त्यस्तै घर निर्माणको पहिलो चरण पूरा गरेर दोस्रो किस्ता माग गर्नेको सङ्ख्या पनि बढेको छ । असार लागेसँगै करिब ४२ हजारले दोस्रो किस्ताको माग गरेको प्राधिकरणले जनाएको छ ।
घर निर्माणका लागि पहिले तयार भएका मापदण्डमा केही सुधार गरिएको र कतिपय स्थानमा प्राधिकरण आफैँले प्राविधिक खटाएर घर निर्माण गर्न चाहनेलाई सहजीकरण गरेका कारण पनि घर निर्माणमा उत्साह देखिएको प्राधिकरण स्रोतको भनाइ छ ।