०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

देउवाको ध्यान ओलीतिर, प्रचण्डको ध्यान अझै सत्तातिर

फागुन १४, २०७८
देउवाको ध्यान ओलीतिर, प्रचण्डको ध्यान अझै सत्तातिर

सत्तारुढ दलभित्रको खटपटपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निरन्तर प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्दै आएका छन् । उनले मूलतः एमसीसी र सत्ता सहकार्यकै विषयमा केन्द्रीत भएर छलफल गरिरहेका हुन् । तर, एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै पहिला सो विषयको निरुपण हुनुपर्ने माग राख्दै आएको छ।  पार्टी विभाजनका बेला एमालेले कारबाही गरेका सांसदलाई सभामुखले प्रक्रियामा नलगिदिएको दाबी गर्दै एमालेले कि त सभामुखले कारबाहीको पत्र लेख्नुपर्ने या त मार्गप्रशस्त गरिदिनुपर्ने माग राख्दै आएको हो । 

सत्ता सहयात्री दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसीमा नसघाउने बताएपछि देउवा ओलीतिर ढल्किएका हुन् । यही बीचमा नेताहरुले अब गठबन्धन अघि बढ्न नसक्ने बताउन थालेका छन् । माओवादीले पनि एमसीसी टेबल भए सरकार छाड्न पार्टीको बैठकबाट निर्णय गरेको थियो । तर माओवादीले सरकार छाड्न आलटाल गरिरहेको छ । बरु देउवासँग निर्णायक बार्ता गर्ने भनेर शुक्रबारको पूर्वस्थायी समितिको बैठकबाट निर्णय गर्यो । माओवादीले सकेसम्म गठबन्धन जोगाउनुपर्ने भन्दै सरकार तत्काल छाड्न नहुने बताएको छ। कतिपयले प्रचण्डको सत्तामोहका कारण पार्टीभित्र तीव्र अन्तरविरोध भएपनि सरकारबाट बाहिरिन ढिलाइ भएको बताएका छन् । 
लोकान्तर राउण्डअपमा अब बाँकी समाचारः
प्रधानमन्त्री गठबन्धनभित्र देखिएको समस्याप्रति थप गम्भीर देखिएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनमा समस्या देखिएकामा देउवा गम्भीर देखिएको बताए । 

भक्तपुरस्थित ओली निवास बालकोटमा शुक्रबार राति भएको दुई दल कांग्रेस र एमालेबीचको वार्तामा देउवाले एमसीसी पारितका लागि एमाले र सो पार्टीका अध्यक्ष ओलीसँग साथ मागेका थिए । यस्तै सत्ता सहकार्यका विषयमा पनि देउवाले प्रस्ताव गरेका थिए । 
तर, एमाले भने पुरानो मागमा अडिएको थियो । ज्ञवालीका अनुसार एमालेलाई संसदमा बस्ने वातावरण बनाउन वार्ताका क्रममा एमालेले कांग्रेससँग माग गरेको थियो । यस्तै लोकतन्त्रका लागि योगदान गरेका एमाले कांग्रेसको योगदान विगत पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उनले बताए ।
००००
सो अघि देउवासँगको बालुवाटारको भेटमा प्रचण्डले एमसीसी पनि टुंगोमा पुग्ने र गठबन्धन पनि जोगिने प्रस्ताव देउवासमक्ष राखेका थिए । एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा माओवादी र एकीकृत समाजवादीका सांसदले बैठक बहिष्कार गर्ने र उपस्थितिको बहुमतले पारित गर्ने विकल्पमा छलफल भएको स्रोतको दाबी छ ।
अर्कातर्फ कांग्रेस महामन्त्री गगन थापाले प्रस्ताव गरेजस्तै एमसीसीमा अमेरिकाले दायाँबायाँ गरे तत्काल खारेज गर्ने संकल्प प्रस्ताव संसदबाट पारित गर्न सकिने विकल्प पनि गठबन्धनका नेताहरूले शीर्ष नेताद्वयलाई सुझाएका छन् ।
छलफलमा प्रधानमन्त्री र प्रचण्डसँगै कांग्रेसका केही नेता र माओवादीका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा समेत सहभागी थिए ।
००००
यसैगरी एमसीसी सम्झौताले राष्ट्रिय राजनीतिमा विवाद चर्किएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र वामदेवबीच सौहार्दपूर्ण भेटघाट भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् ।
००००
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउन कांग्रेस सहमत हुनुपर्ने बताएका छन् ।निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेपछि  शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले सभामुख सापकोटाले एमाले विभाजन गर्न भूमिका निर्वाह गरेकाले गल्ती सच्याउनुपर्ने बताएका हुन् ।
००००
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपालले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई हतारमा केपी ओलीसँग अनैतिक सम्झौताको निर्णय नगर्नुहोस् भनेको छु ।’
००००
पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६२८ नमूना परीक्षणमध्ये १५८ पीसीआर र ११७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९३२ छ ।
०००० 
जसपाको कार्यकारिणी समितिको बैठक शुक्रबारदेखि सुरु भएको छ । बैठकमा एमसीसीलगयतका विषयमा छलफल हुने छ।
००००
संसद् बैठक फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । तर, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोध प्रदर्शन भने शुक्रबार पनि रोकिएन । 
संसद् बैठक स्थगित भए पनि प्रदर्शनकारीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्