युक्रेनमा रुसले गरेको आक्रमणको आज तेस्रो दिन हो । हालसम्मको पछिल्लो जानकारी यस्तो छ:
- युक्रेनको राजधानी कीभमा गएरातिदेखि भीषण भिडन्त जारी छ । युक्रेनको सेनाले आफ्नो एउटा सैन्य अखडामा भएको रुसी आक्रमणलाई असफल बनाएको जनाएको छ । रुसी सेना पछाडि हटेको यु्क्रेनको भनाइ छ ।
- रुसी सेनाले गरेको आक्रमणमा कीभको एउटा अपार्टमेन्ट ब्लकमा ठूलो क्षति भएको छ ।
- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कीभको मुख्य सडकमा हिँडिरहेको भिडियो पोस्ट गरेका छन् । भिडियोमा उनले केही रिपोर्टले युक्रेनी सेनालाई आत्मसमर्पण गर्ने आदेश दिएको भन्ने कुरा गलत भएको बताए । उनले युक्रेनले आफ्नो सम्पूर्ण शक्तिले आफ्नो रक्षा गर्ने बताएका छन् ।
- रुसको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनको दक्षिण पूर्वी शहर मेलिटोपोल कब्जा गरेको जनाएको छ । यद्यपि बेलायतका एक अधिकारीले उक्त दाबीमा शंका रहेको बताएका छन् ।
- बेलायती रक्षा अधिकारी जेम्स हिप्पेले बेलायत र अन्य २५ देशले युक्रेनलाई हतियार दिन सहमत भएको बताएका छन् ।
- युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लिस्कोले रुसी आक्रमणमा १९८ युक्रेनी नागरिक मारिएको र एक हजार भन्दा बढी घाइते भएको बताएका छन् ।
- युक्रेनमा भएको आक्रमणपछि पोल्याण्डले सन् २०२२ को विश्वकप फुटबलको प्ले अफ खेल रुससँग खेल्न अस्वीकार गरेको छ । २४ मार्चमा खेलिने सो खेलबारे पोल्याण्ड फुटबल महासंघका अध्यक्ष जारे कुलेशाले भने, ‘अब कदम चाल्ने बेला आएको छ ।
- रुसी आक्रमणपछि पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख मानिस बाहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । बीबीसी