काठमाडौं, २० असार –स्थानीय तहको निर्वाचनमा पराजीत भएपछि हेटौंडाका एक व्यक्तिले ज्यूँदै आफ्नो श्राद्ध आफैंले गरेका छन् । स्थानीय तहको निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका राकेशकुमार शर्माले चुनाव हारेपछि मंगलवार आफ्नै श्राद्ध गरेका हुन् ।
२०७२ असोजमा जारी भएको संविधानकाविरुद्ध पनि विभिन्न ठाउँमा श्राद्ध गरेको दावी गर्ने शर्माले मरिसकेको संविधान अनुरुप सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिएकामा पश्चाताप गर्दै उनले आफ्नो श्राद्ध गरेको बताएका छन् । उनले हेटौंडाको सानो पोखरा चोकमा पुरोहितसहित आफ्नो श्राद्ध गरेका हुन् ।
‘मैले संविधान मरिसकेको छ भनेर घोषणा गर्नेले नै स्थानीय तहको निर्वाचनमा लडेर ठूलो भूल र गल्ती गरेको छु,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
आफू जिवितै छँदै श्राद्ध गर्ने कुरा गरुड पुराण, भविष्य पुराण, अन्त्य पद्धती र जीवञ्छ पद्धतीमा पुस्तकमा उल्लेख भएको दावी उनको छ ।
राष्ट्रघाती र विकाउ नेताका कारण मुलुकको स्वाधिनता धरापमा परेको उनले उल्लेख गरेका छन् ।