
युक्रेनको राजधानी किएभभन्दा ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भासीलकिभ शहरस्थित तेल भण्डारमा आगो लागेको छ ।
रुसको क्षेप्यास्त्र आक्रमणबाट उक्त तेल भण्डारमा आगो लागेको त्यहाँका मेयर नतालिया बालासिनोभिचले भिडियो पोस्ट गरेर जानकारी दिइन् । युक्रेनको राष्ट्रिय समाचार समितिले त्यसलाई पछि पुष्टि गरेको छ ।
अन्लाइन राखिएको भिडियो र तस्वीरमा राति आगोका ठूला लप्काहरू फैलिएको देखिन्छ ।
केएलओ कम्पनीको तेल डिपोमा क्षेप्यास्त्र आक्रमण गरिएको हो । आक्रमणमा कोही हताहत भएको खबर छैन । तर तेल भण्डार लामो समयसम्म जलिरहने देखिन्छ ।
आगो दन्किएपछि अधिकारीहरूले निवासीहरूलाई झ्याल बन्द गरेर बस्न भनेका छन् । धूवाँ र हानिकारक वस्तु सासबाट भित्र नपसोस् भनी यो निर्देशन दिइएको हो ।