
सत्तारुढ दलहरूबीच आइतवार प्रतिनिधि सभाको दोस्रो बैठक राखेर अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको गठबन्धनको बैठकले एमसीसी आजै अनुमोदन गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा एमसीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि त्यो बैठकमा सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिक छलफल सकिएपछि पहिलो बैठक स्थगित हुनेछ ।
दोस्रो बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरियोस् भन्ने प्रस्ताव सरकारले पेश गर्नेछ । बैठकमा उपस्थित संख्याको बहुमतले पारित गर्ने भएकाले एमसीसी पारित गर्न सत्ता गठबन्धनलाई अप्ठ्यारो छैन ।
एमसीसीबारे अनिर्णित रहेको नेकपा एमालेले भने प्रतिनिधि सभामा विगतको जस्तै नाराबाजी कायम राख्ने संकेत गरेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।