
सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा व्याख्यात्मक प्रस्ताव पारित गर्नु एक कदम सकारात्मक रहेको बताएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरूको दबाब तथा माओवादी केन्द्र र नेकपा एसको अडानका कारण एमसीसी जस्ताको तस्तै पारित नभएर व्याख्यात्मक टिप्पणी आउन लागेको बताए ।
‘हामीले एमसीसीको विरोध गरेपछि गठबन्धनको बैठकमै बोलाउन छाडेका थिए । प्रचण्ड र माधव नेपालको अडानका कारण एमसीसी आजसम्म रोकियो,’ केसीले लोकान्तरसँग भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा केपी ओलीलाई रिझाएर एमसीसी पारित गर्ने पक्षमा पुगेपछि प्रचण्ड–नेपालले केही सम्झौता गरे ।’
अन्तिमसम्म टिक्न नसकेपनि प्रचण्ड र माधव नेपालको भूमिका सकारात्मक रहेको केसीले दाबी गरे । ‘उनीहरू पनि कांग्रेस जस्तो लम्पसार परेको भए हाम्रो विरोधले मात्र एमसीसी रोक्न सकिन्नथ्यो, कमा र फूलस्टप पनि चेन्ज गर्न पाइँदैन भनेको अमेरिका व्याख्यात्मक प्रस्तावका लागि तयार हुनु पनि सकारात्मक हो,’ केसीले भने ।