
नेकपा एमालेका नेता भीम रावलले एमसीसी अनुमोदन गर्न समर्थन हुनेहरू राष्ट्रिय गद्दारको रुपमा अंकित हुने टिप्पणी गरेका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकमा एमसीसीसँगको सम्झौतामाथि छलफलमा भाग लिँदै रावलले होहल्लाको बीच संसदमा एमसीसी ल्याएर सरकारले देशप्रति गद्दारी गरेको आरोप लगाए ।
‘राष्ट्रिय स्वाधिनतासम्बन्धी विषयलाई होहल्लाको बीचमा प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो । जनताप्रतिको धोका हो । नेपाल राष्ट्रको अपमान हो,’ उनले भने, ‘यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती भनेर दर्ज हुनेछ । जसजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार भनेर नेपालको इतिहासमा अंकित हुनेछन् ।’
सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता र हितलाई गौण ठान्ने सोच र व्यवहार निन्दनीय रहेको पनि उनले संसदमा बताए ।
व्याख्यात्मक टिप्पणीबाट राष्ट्रघाती प्रावधान सच्याइने कुरा गर्नु जनतालाई ठग्नु मात्रै भएको र महाकाली सन्धीको बेलाको निरर्थक संकल्प प्रस्ताव जस्तै रहेको रावलको भनाइ छ ।
‘अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक नीति विपरीत कुनै काम गर्न नपाइने प्रावधान एमसीसीमा राखिएको छ । नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्ने, विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बाटो खोलिएको छ,’ रावलले भने ।
नेपाललाई विदेशीको प्रभावमा राख्ने योजना एमसीसीबाट तय गरिएको उनले बताए ।
अनुदान लिनैपर्ने भनेर प्रत्यक्ष र परोक्ष रुपमा अमेरिकी अधिकारीहरूले दिएको दबाबले पनि अमेरिकी स्वार्थ पुष्टि हुने रावलको भनाइ छ ।
एमसीसी सम्झौता कार्यान्वयन हुँदा नेपाललाई उपनिवेशीकरणमा धकेल्ने उनले दाबी गरेका छन् ।
सरकार विदेशी हस्तक्षेपमा लम्पसार परेको र एमसीसीको विरोध गर्नेहरूलाई क्रुरतापूर्वक दमन गरेको पनि रावलले बताए ।