पार्टीमा असन्तुष्टि जनाइरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रेष्ठको निवास गएका छन् । प्रचण्ड मंगलवार दिउँसो श्रेष्ठको निवास हात्तीवन पुगेका हुन् ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेको विषयलाई लिएर माओवादीभित्र विवाद चर्केको छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजीले असहमति जनाएका थिए ।
एमसीसीकै कारण नारायणकाजीले पार्टी छाड्ने विषयमा पत्रकारले सोधेको प्रश्नमा सोमवार प्रचण्डले पार्टी छाडे उनको हालत एमाले विभाजन गर्दा वामदेवको जस्तो हुने टिप्पणी गरेका थिए ।
व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए लगत्तै नारायणकाजीले आपत्ति जनाएका थिए । माओवादीमा पार्टी एकीकरण गरेको नेकपा एकता केन्द्रका नेताहरूले एमसीसीमा प्रचण्डको निर्णयप्रति असहमति जनाएका छन् ।
विवाद चर्किएपछि कुराकानीका लागि प्रचण्ड श्रेष्ठको निवास गएको प्रचण्डको सचिवालयले स्वीकार गरेको छ ।