
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा झण्डै १ हजार ५०० रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् ।
डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक हेमन्त मल्ल रात्रिकालीन व्यवसाय जोखिमयुक्त हुने भएकाले कडा नियम र अनुगमन पनि गर्नुपर्ने बताउँछन् । उनले यसमा प्रहरीबाट अनुगमन नियमन गर्नुभन्दा पनि सम्बन्धित व्यवसायी र तिनका संगठनले नै व्यवसायलाई मर्यादित राख्नेबारे सोच्नुपर्ने पनि बताए ।
उनले यस्ता व्यवसायलाई जथाभावी स्वीकृति नदिएर कुनै पकेट क्षेत्रमा मात्र सञ्चालन गर्न दिए सुरक्षा दिन सहज हुने पनि उल्लेख गरे ।
रात्रिकालीन व्यवसाय दर्ताको समस्या बेग्लै छ । कुनै कम्पनी रजिस्ट्रारको कार्यालयमा त कुनै घरेलु तथा साना उद्योग कार्यालयमा र केही जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छन् । रात्रिकालीन व्यवयाय अन्तर्गतको नेपाल लोकदोहोरी संघ नेपालका अध्यक्ष विनोद श्रेष्ठका अनुसार विभिन्न निकायमा दर्ता रहेका यी सबै व्यवसाय एकत्रित सूचीकरण नहुँदा अनुगमनलगायतका कार्यमा समस्या छ । समग्रमा सुरक्षासँग सम्बन्धित अनुगमन गर्ने कार्य जिल्ला प्रशासन कार्यालयको हो ।
काठमाडौंमा मात्र १ हजार ४२५ रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् तर सञ्चालन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग ६० जना व्यवसायीले मात्र विवरण पेश गरेका छन् । अन्य १ हजार ३६५ व्यवसायबारे स्वयं प्रजिअ कार्यालय बेखबर छ । यसो हुँदा पनि अनुगमन कमजोर बनेको छ ।
काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले जनशक्तिको अभावका कारण आवश्यक अनुगमन हुन नसकेको बताउँदै भने, ‘हामीले बेलाबेला अनुगमन गर्छौं तर सबै ठाउँमा पुग्न नसकेको हुनसक्छ ।’
उनले व्यवसाय गर्न स्वीकृति दिने अरू संस्थाले समेत यसको अनुगमन गर्दा अझ प्रभावकारी हुने बताए ।
अधिकांश रात्रिकालीन व्यवसाय भवनको जमिनमुनिको तलामा सञ्चालनमा छन् । भवन निर्माण गर्दा स्थानीय निकायसँग पार्किङ भन्दै भवन निर्माण स्वीकृति लिएर फरक प्रयोजनमा सञ्चालन भएको बारे काठमाडौं महानगरपालिकाले समेत अनुगमन गरेको छैन ।
काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले महानगरबाट पार्किङ स्वीकृति लिएका अधिकांश भवनमा व्यवसाय सञ्चालन भएकोबारे आफू पनि जानकार रहेको बताए ।
धेरै ठाउँमा यस्तो समस्या छ, स्पष्ट कानून नभएका कारण कारबाही पक्ष कमजोर भएको हो । उनले प्रयोजन एउटा व्यवसाय अर्को गर्नेमाथि अनुगमन र कारबाही गर्ने आफ्नै मातहत रहने गरी अनुगमन विभाग समेत गठन भइरहेको जानकारी दिए ।
आम मानिस सुत्ने बेला शुरू हुने र प्रायः मानिस निद्रामा रहेका जागै रही मनोरञ्जनमा मस्त रहने रात्रिकालीन संसारमा लागू औषधको कारोबार र प्रयोग, आपराधिक घटना र योजनासमेत हुने गरेका घटना बाहिर आउने गरेका छन् ।
यस्ता व्यवसायको कारोबार र सञ्चालनको अनुमति कम्पनी रजिस्ट्रारको कार्यालय, स्थानीय निकायबाट दिने गरिएको छ । अनुमति दिने निकायसँग अनुगमन गर्ने र नियमविपरीत सञ्चालन भएको पाइए कारबाही गर्ने कुनै संरचना छैन । अर्थात् अनुमति दिनेले पनि अनुगमन गर्दैनन् । कम्पनी रजिस्ट्रारको कार्यालयले यी कम्पनीको दर्ता, कम्पनीको पुँजी र शेयर सदस्यबारे लगत राखे पनि अनुगमन गर्दैन ।
कम्पनी रजिस्ट्रार कार्यालय काठमाडौंका प्रमुख प्रदीपराज अधिकारीले पर्यटन व्यवसायअन्तर्गत दर्ता भएका यस्ता व्यवसाय र अन्य दर्ता कम्पनीको समेत अनुगमन रजिस्ट्रारको कार्यालयले हालसम्म नगरेको बताए ।
दरबारमार्गमा रात्रिकालीन व्यवसाय गर्दै आएका एक युवाले पछिल्लो ५ वर्षयता अनुगमन गर्ने निकाय नआएको बताए । प्रक्रिया पूरा गरी सञ्चालन भएका व्यवसायमा प्रहरीले अनावश्यक दुःख दिने र जथाभावी खुलेका व्यवसाय सेटिङकै भरमा चलिरहेको आरोप ती व्यवसायीको छ । कतिपय विदेशी पर्यटकलाई झुक्याउने, ठगी गर्ने, अश्लील क्रियाकलाप गर्ने गराउने जस्ता आरोप रात्रिकालीन व्यवसायमाथि लाग्ने गरेको छ ।
नेपाल लोकदोहोरी संघका अध्यक्ष विनोद श्रेष्ठले श्रेष्ठले यो व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन संघका तर्फबाट आवश्यक पहल हुने बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा यस्ता व्यवसायमाथि ५ प्रतिशत मनोरञ्जन कर छल्न कतिपय डिस्को तथा डान्सबारले चमेना गृहको नाममा दर्ता भएर पनि रात्रिकालीन व्यवसाय सञ्चालन गरेको पाइएको छ । गोरखापत्रमा खबर छ ।