काठमाडौँ, २१ असार- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सकेका छैनन् । हतारिँदै प्रधानमन्त्री बने पनि त्यसयता उनको ‘कार्यशैली’ निकै सुस्त छ । ठूलो दल कांग्रेसको सभापतिसमेत रहेका देउवाले पार्टी सञ्चालनको जस्तै ढिलासुस्ती सरकारमा पनि देखाउने हो कि भन्ने चिन्ता उनकै पार्टीभित्र समेत बढ्न थालेको छ, कान्तिपुरमा खबर छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाको कार्यशैली, उनले लिएका गलत राजनीतिक निर्णय र घटनाक्रमको परिणामस्वरूप स्थानीय तहमा कांग्रेस दोस्रो बन्न पुगेको निष्कर्ष निकालिसकेको छ । दोस्रो चरणको चुनावको नतिजा आउँदै गर्दा पौडेल पक्षको भेलाले यस्तो निष्कर्ष निकालेको हो । स्थानीय तहको तेस्रो चरणको चुनाव र त्यसपछि हुने प्रदेश र संघीय संसदको चुनावमा पार्टीको स्थिति कस्तो हुनेछ भन्ने तथ्य धेरै हदमा देउवाको कार्यशैली र भूमिकामा भर पर्ने पौडेल पक्षको ठहर छ ।
सत्ता सञ्चालनको मोटामोटी विषयमा जानकार भए पनि विषयगत मुद्दामा गहिरो अध्ययन नभएको र नगर्ने स्वभावका देउवाका लागि सरकारका काममा प्रभावकारिता ल्याउन तत्काल विज्ञहरूको सहयोगी समूह आवश्यक छ । आइतबार प्रसारण भएको साझा सवालको प्रस्तुतिलाई लिएर देउवामाथि भइरहेका टीकाटिप्पणीले पनि यही दर्शाउँछ ।