
रुसी सैनिकहरू युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा प्रवेश गरेर भीषण आक्रमण गरिरहेको युक्रेनको सुरक्षा सेवाले जनाएको छ ।
स्थानीय समयअनुसार बिहान ३ बजे रुसी सैनिकहरू खार्किभमा विमानबाट झरेर युक्रेनी बलहरूसँग लड्न थालेका हुन् ।
रुसी सैनिकहरूले सेनाको अस्पतालमा आक्रमण गरेको र युक्रेनी प्रतिरक्षक तथा रुसी आक्रमणकारीबीच लडाइँ भएको पनि उसले जनायो ।
खार्किभको जनसंख्या १५ लाख छ र त्यसलाई रुसी सेनाले घेरेर राखेको छ । त्यहाँको प्रशासनिक भवनमा मंगलवार रुसको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
फ्रीडम स्क्वेयरमा रहेको प्रशासनिक भवनमाथिको आक्रमण रुसले युक्रेनीहरूको उत्साह भत्काउने प्रयासका रूपमा हेरिएको छ ।
उक्त आक्रमणलाई युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले आतंकवाद र युद्धअपराधको संज्ञा दिएका छन् । रुसले गरेको राज्य आतंकवादको उदाहरण भएको उनको मत छ ।