
फागुन १६ मा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले मंगलवार काभ्रे घर भई चावहिल बस्ने २ वर्षीय सुवास महतलाई पक्राउ गरेको हो ।
उनी विप्लवनिकट अनेरास्ववियू क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्षसमेत हुन् ।
प्रहरीले उनको साथबाट घटनामा प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको मोटरसाइकल, घटनाका बेला लगाएको कालो रङको ट्रयाक ज्याकेट र विभिन्न कम्पनीका ४ थान मोबाइलसमेत बरामद गरेको छ ।
आइतवार एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमवार नेपाल बन्दको आह्वान गरिएको थियो । सो क्रममा प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर संसद् भवन अगाडि राखिएको थियो । सो शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको थियो । कुकरभित्र प्लास्टिक र कागज मात्रै पाइएको थियो ।