
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ ।
भेटमा गृहमन्त्री खाणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।
भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए ।
एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलवार धन्यवाद दिएको राजदूत बेरीले बताए ।
एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए । ‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणा हामीले पहिल्यैदेखि भन्दै आएको विषय हो,’ राजदूत बेरीले भने ।
राजदूत बेरीले शरणार्थीलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने सरकारको निर्णय प्रशंसनीय भएको बताए ।
एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूतावास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिए ।
उनले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधैँ साथमा रहने विश्वास व्यक्त गरे ।
गृहमन्त्री खाणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताए ।