
एमसीसी पास गर्ने नेपाली नेताहरू र अमेरिकन राजदूतावासलाई बमले उडाउँछु भन्दै सामाजिक सञ्जालमा धम्की दिने एक जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।
बारा जितपुरसिमरा उपमहानगरपालिका-१६ का २५ वर्षीय कुष्णबहादुर थापालाई साइबर ब्यूरोले फागुन १२ मा पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एमसीसी पास भए नेपाली नेता र अमेरिकी दूतावास तथा पास गर्ने सबैलाई बमले उडाउने भन्दै पोस्ट् गरेका थिए । उनले भारतबाट बम ल्याएको समेत लेखेका थिए ।
प्रहरीले उनलाई फागुन १२ गते मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ हात्तीलेटबाट पक्राउ गरेको हो ।
धम्कीपूर्ण अभिव्यक्ति लेखी सामाजिक सञ्जालमार्फत् सार्वजनिक नैतिकता, शिष्टाचारविरूद्धका सामग्रीहरू विद्युतीय माध्यममा प्रकाशन गरेको भन्दै उनलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
ब्यूरोले पहिलो पटक फागुन १२ मा ५ दिनको र दोस्रो पटक ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।