
काठमाडौँ महानगरको वडा ६ सिमलटार महामृत्युञ्जय मन्दिर परिसरमा किरियापुत्री भवन उद्घाटन भएको छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण राई, वडाध्यक्ष दीपेन्द्र लामाले किरियापुत्री भवन र जय गुरुदेव भवन उदघाटन गरेका हुन् ।
संसद विकास कोष, महानगरपालिका, बौद्धनाथ क्षेत्र विकास समिति, उपभोक्ता समितिको लागत सहभागितामा २ तले भवन निर्माण गरिएको हो । भवनमा एक पटकमा ५ वटा परिवारले किरिया गर्न सक्छन् ।
२ तले भवन करिब १२ लाख रुपैयाँमा निर्माण गरिएको हो ।
भवन उद्घाटनपछि बोल्दै मेयर शाक्यले, वडा क्षेत्रमा पार्क तथा हरियाली प्रवर्द्धनका लागि धेरै काम भएको उल्लेख गरे।
‘ वडाबाट सम्पन्न कामहरुको एकीकृत संगालो महानगरको प्रगति हो । हामीले वडा समितिबाट हुने कामका लागि सहजीकरण गरेका छौँ । माग भएका योजनाहरु प्राथमिकताका आधारमा स्वीकृत गरेका छौँ,’ मेयर शाक्यले भने, ‘तत्काल नगरि नहुने कुनै काम छन् भने ती कामहरु गर्न अझै पनि समय छ । सार्वजनिक जग्गा संरक्षण गर्न र पार्क बनाउने कामलाई प्राथमिकता दिऔँ ।’
त्यस क्रममा संघीय संसद सदस्य कृष्ण राईले, सहभागिताबाट गरिने कामहरूबाट धेरैले स्वामित्व लिन सक्ने धारणा राखे । महामृत्युञ्जय मन्दिर परिसरमा भएका संरचना र तिनको स्वामित्व यसको उदाहरण हो । संसद सदस्य राईको भनाइ थियो ।
सिमलटार क्षेत्र यस अघि पिछडिएको थियो । हामीले यस क्षेत्रको पूर्वाधार सुधारका लागि प्रयास गरेका छौँ । उद्घाटन अवसरमा वडाध्यक्ष दीपेन्द्र लामाले, टोल टोलमा गएर विकासका माग सुनुवाई गर्ने प्रयास गरिरहेको बताए ।