
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचपास सकेर जहाजको पर्खाइमा बसेका यात्रुहरू न्युनतम् चियाकफीको सुविधाबाट समेत वञ्चित छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको स्टेराइल हलमा जहाजको प्रतिक्षामा रहेका यात्रुले चिया, कफी तथा खाजाको सुविधा नपाएको गुनासो गरेका छन् ।
विमानस्थलभित्रको टी कफी एण्ड कन्फ्रेन्सरीले सञ्चालन गरेको कफी सप आगलागीपछि २०७६ माघ २७ गतेदेखि बन्द छ ।
कफी शप नखुल्दै कोरोना महामारी शुरू भयो । महामारीपछि विमानस्थल भित्रको यात्रु आवागमन सामान्य अवस्थामा फर्किसकेको भए पनि कफी शप भने सञ्चालनमा छैन ।
विमानस्थलभित्र कफी शप नहुँदा कम्तीमा एक–डेढ घण्टादेखि जहाज ढिलो हुँदा कहिलेकाहीँ ५/७ घण्टाभन्दा बढी समय पनि यात्रुले प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यो बेला भित्रै रहेका यात्रुलाई चिया, कफी तथा खाजाको सुविधा नभएको विमानस्थल कार्यालयले स्वीकार गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल भित्रको स्टेराइल हलमा चियाकफी तथा खाजा खाने सुविधा नभएको भन्दै दैनिकजसो यात्रुको गुनासो आइरहेको छ । गुनासो बढेकै कारण विमानस्थल कार्यालयले यात्रुको चाहना अनुसारको कफी शप खोल्न दिने निर्णय १ महिनाअघि नै गरिसकेका पनि उनले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा जुनसुकै विमानस्थलमा समेत यात्रुको सेवासुविधाका लागि हुने सामान्य कफी शपसम्म नहुँदा स्वदेशी र विदेशी यात्रुको गुनासो छ । यात्रुको गुनासो सम्बोधन गर्न विमानस्थल कार्यालयले २ वर्षअघि सेवा दिएकै कफी शप सञ्चालन गर्न दिने निर्णय पनि गरिसकेको छ । कफी शपले आवश्यक तयारी गरिरहेकाले केही दिनमा सञ्चालनमा आउने बुझाइ ठाकुरको छ ।
ठाकुरका अनुसार हरेक घण्टा विमानस्थलबाट ४–५ वटासम्म उडान हुँदा यात्रुको चाप बढी हुन्छ । त्यो बेला यात्रुले चाहेको समय बिताउन समेत चिया कफीको आवश्यकता हुन्छ । यसलाई विमानस्थलकै कमजोरीका कारण ढिलो भएको विमानस्थलका महाप्रबन्धक ठाकुरले बताए ।

ठाकुरका अनुसार कफी शप मात्रै नभएर ड्युटी फ्री र सोभिनियर शपको पनि खाँचो छ । यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विमानस्थलको ड्युटी फ्री शप बन्द गरिएको हालसम्म खुलेको छैन । अन्तर्राष्ट्रिय स्तरमा हरेक विमानस्थलमा हुने ड्युटी फ्री शप नेपालमा छैन भने विदेशी यात्रुले बचेको पैसाबाट किन्न चाहनेको सोभिनियर शप पनि विमानस्थलभित्र छैन ।
‘विदेशी यात्रुले फर्कने बेला बचत भएको पैसा विमानस्थलमै खर्च गरेर जान चाहन्छन् तर हामीले त्यो सुविधा दिन सकिरहेका छैनौं,’ महाप्रबन्धक ठाकुरले भने ।
अर्थ मन्त्रालयसँग समन्वय गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाएर ड्युटी शप खुलाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको छ । कफी शप छिट्टै खुल्ने भएकाले अब सोभिनियर शपका लागि पनि आवश्यक तयारी भइरहेको महाप्रबन्धक ठाकुरले बताए ।