
हुम्लाको दुगर्म बस्ती ताँजाकोट गाउँपालिका–३, मासपुर गाउँका स्थानीय बासिन्दाले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि गाउँमै मतदान केन्द्रको माग गरेको भए पनि केन्द्र नथपिने भएपछि मतदान गर्न १० घण्टा पैदल हिँडेर मतदान गर्न जानुपर्ने भएको छ ।
गाउँकै विद्यालयमा मतदान केन्द्र माग गरिएको भए पनि त्यो सम्भव नहुने देखिएपछि विगतमा जस्तै १० घण्टा पैदल हिँडेर मतदान केन्द्रमा जानुपर्ने बाध्यता भएको हो ।
ताँजाकोट गाउँपालिका–३, मासपुर गाउँका स्थानीय दानबहादुर बुढाले विगतका वर्षमाझैँ यस पटकको स्थानीय तहको निर्वाचनमा मताधिकारबाट वञ्चित नबनाउन आयोगसँग माग गरे।
उनले वडाकै कैलाश प्रावि थापागाउँको मतदान केन्द्रमा मतदान गर्न गाउँवासीले १० घण्टा पैदल हिँडेर जानुपर्ने हुँदा मतदानबाट धेरै पटक वञ्चित हुनुपरेको स्मरण गर्दै यसपटक मतदान गर्ने अधिकारबाट वञ्चित नबनाउन निर्वाचन आयोगसँग आग्रह गरे ।
मतदान गर्न एक दिन हिँडेर जानुपर्ने भएपछि अधिकांश मतदाता मताधिकारबाट वञ्चित हुँदै आएका छन् ।
२०७४ सालमा तीनवटै तहको निर्वाचनमा मासपुरवासीमध्ये जम्मा १७ जनाले मात्रै मतदान गरेको बताउँदै उहाँले मतदान केन्द्र नपुग्दै मतदान गर्ने समय सकिने भएका कारण पनि धेरै मतदाता नजाने अवस्था रहेको जनाए । गोरखापत्र दैनिकमा खबर छ ।