३१ जेठ २०८३, आइतबार

कर्मचारीकै मिलेमतोमा सुन तस्करी

फागुन २१, २०७८
कर्मचारीकै मिलेमतोमा सुन तस्करी
प्रतिकात्मक तस्वीर

पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ ।

कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो ३ महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० किलो सुन बरामद गरिएको जानकारी दिए ।

गत मंसिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ किलो सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम रोकिएको छैन ।

गत शनिवार १ किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले दुबईबाट ल्याएका १० वटा सुनका सिक्री हुमागाईंले भन्सार छलेर बाहिर पठाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गत माघ २९ गते ४ किलो ८४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ ली भन्सार पार गरेपछि पक्राउ परेका थिए । हिमालयन एयरलाइन्सको दुबई उडानमा आएका लीले समेत सेटिङ मिलाएर सुन ल्याएकोबारे अनुसन्धान भइरहेको छ । उनी ३०औं पटक नेपाल आएको पाइएको छ ।

विमानस्थल प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १७ किलो ३३८ ग्राम, २०७५/७६ मा २७ किलो ११ ग्राम, २०७/७७ मा साढे ३ किलो र २०७७/७८ मा ३२ किलो तथा चालू आव २०७८/७९ मा मात्र १९ किलो तस्करीको सुन विमानस्थल प्रहरीले बरामद गरेको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार विमानस्थल भएर ३ किसिमले सुनको तस्करी हुने गरेको छ । विमानका कर्मचारीको मिलेमतोमा हुने तस्करी विमानको डस्टबिन हुँदै बाहिर निकालिन्छ । दोस्रो, अध्यागमन र भन्सारका केही कर्मचारीको सहयोग र सेटिङमा र तेस्रो, विमानस्थलका सुरक्षाकर्मीले प्रयोग गर्ने बाटो हुँदै तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

गृह मन्त्रालयले २०७४ चैत २० गते सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरेको विशेष अनुसन्धान समितिले ३३ किलो सुन प्रकरणका प्रमुख मानिएका चूूडामणि उप्रेती ‘गोरे’को डायरीमा ५ वर्षभित्र ३८ सय किलो सुन तस्करी भएको तथ्य खुलेको पाएको थियो । 

समितिका एक उच्च अधिकारीका अनुसार गोरे समूहले मात्र एकै महिनामा २३ पटक ३३ किलो सुन तस्करी गरेको थियो । नेपालमा दैनिक औसत ३० किलो सुनको माग छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा वाणिज्य बैंकहरूले २० किलो मात्र सुन लिन पाउँछन् । बैंकहरूबाट किनेको सुन व्यवसायीले ग्राहकलाई बेच्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुन स्रोत खुलाएर व्यक्तिगत प्रयोजनका लागि ल्याउन पाइन्छ । यसलाई तस्करहरूले सुन तस्करीको माध्यम बनाएका छन् । वैदेशिक रोजगारबाट फर्किने कामदारलाई सुनको भरियाका रूपमा समेत प्रयोग गरिरहेको पाइएको छ ।

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी सेटिङबाट नै सुनको तस्करी हुने गरेको बताउँछन् । उनले भन्सार छल्ने उद्देश्यले सुन तस्करी हुने गरेको र लगानीको अनुपातमा कम फाइदा हुने भएकाले तस्करले सेटिङको बाटो प्रयोग गर्ने बताए ।

सीआईबीका पूर्व निर्देशक समेत रहेका भण्डारीले चुनावको समय तस्करी बढी हुने र सोहीअनुरूप विमानस्थलमा कर्मचारीको सेटिङ हुने गरेको दाबी गरे । तस्करीमार्फत आएको सुन कतिपय नेपालका सुन व्यवसायीले खरिद गरी बेच्ने गरेको आरोप लाग्ने गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले माग बढी र आयात कम हुनु नै सुन तस्करीको मुख्य कारण रहेको दाबी गरेका छन् ।

उनले सुनको स्रोत खोज्ने र त्यसको प्रमाणित गर्ने निकाय व्यवसायी नभएको भन्दै यसबारे राज्यले अनुसन्धान गर्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकले सुनलगायत विदेशी वस्तुको आयात आवश्यकता औचित्यताका आधारमा गर्ने नीति बनाउँछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बजारले गरेकै आधारमा वस्तुको आयात गर्न नसकिने बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्