२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

प्रचण्डमाथि ‘आत्मसमर्पण’को आरोप, केन्द्रीय समिति बैठकमा रक्षात्मक

फागुन २१, २०७८
प्रचण्डमाथि ‘आत्मसमर्पण’को आरोप, केन्द्रीय समिति बैठकमा रक्षात्मक

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पारित गरिएकोमा भारतसमेत असन्तुष्ट रहेको दाबी गरेका छन् ।  एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी प्रकरणमा छिमेकीहरूको असन्तुष्टि रहेको बताएका हुन् । 
‘एमसीसीको बारेमा भारत बोलेको छैन, मुर्मुरिएर बसेको छ,’ विप्लवले भने । 

विप्लवले एमसीसी पारित गर्ने बेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिर लतारेर आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन् । विप्लवले केही मन्त्री र सांसदको पद जोगाउने नाममा प्रचण्ड र माधव नेपालले आत्मसपर्मण गरेको आरोप लगाएका हुन् । 

‘कम्युनिस्टको नाममा खोल ओढेका अर्बपतिका कारण एमसीसी पारित हुने अवस्था आयो । फागुन १५ गतेको निर्णयमा केपी ओलीले संसद्मा रोष्टम घेराउको नाममा एमसीसी पारित गर्न भूमिका खेले,’ विप्लवले भने, ‘प्रचण्ड र माधव नेपालले शिर लतारेर आत्मसमर्पण गरेका छन् । अमेरिकी साम्राज्यवादको फोनका भरमा लाहछाप लगाएका छन् ।’ 
प्रचण्डले एमसीसी अनुमोदन गरेर देशलाई दुर्घटनाबाट बचाएको दाबी गरे पनि देश दुर्घटनामा पारेको आरोप लगाए ।
००००
यसैगरी पार्टीको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आलोचना भएको छ । एमसीसी पास गर्न सघाएको भन्दै नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको खुलेर आलोचना गरेका हुन् । 
बैठकको पहिलो दिन सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको बचाउ गरे । त्यतिमात्र होइन उनले एमसीसीको टुंगो लागेसँगै गठबन्धन निर्वाचनसम्म सुरक्षित रहने निश्चित भएको बताए । 
‘एमसीसीकै कारण गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो,’ उनले भने, ‘एक ढंगले त्यसको टुंगो लागेको छ । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करीब निश्चित भयो ।’

एमसीसी पास गर्न सघाएदेखि नै  प्रचण्डसँग असन्तुष्ट रहेका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको आलोचना गरे। 
उनले पार्टीमा दलालहरूसँग साठगाँठ गर्ने प्रवृत्ति बढेको समेत आरोप लगाए । 

‘पार्टीमा नोकरशाही, पुँजीपति तथा दलालहरूसँग साठगाँठ गर्ने प्रवृत्ति बढेको छ,’ बैठकमा श्रेष्ठले भने, ‘नेतृत्व नै चरम व्यक्तिवादी बनेको छ ।’
उनले प्रचण्ड र आफ्नो २०५३ देखिकै सम्बन्ध गम्भीर मोडमा पुगेको बताए । उनको यो अभिव्यक्तिले पार्टीभित्रको चरम असन्तुष्टि झल्काउँछ ।
००००
माओवादी केन्द्रका अर्को बैठक आइतबार बस्नेछ । शुक्रबार राष्ट्रिय सभागृहमा बैठक सुरु भएको हो । 
००००
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन अनुमोदन गरिएको छ ।

शुक्रवार बसेको बैठकमा समितिका सदस्यबाट छलफलपछि प्रतिवेदन अनुमोदन गरिएको हो । ४ खण्डमा रहेको प्रतिवेदनमा समितिका निर्णय तथा निर्देशन, महालेखा परीक्षकको विभिन्न वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुका सम्बन्धमा भएका काम कारबाहीका विवरणलगायत छन् ।
००००
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसि)बीच भएको सम्झौता संसद्बाट पारित भएपछि नेपाल विश्व अर्थतन्त्रबाट अलग्गिने खतराबाट जोगिएको बताएका छन् । भैरहवास्थित पक्लिहवा माविको वार्षिकोत्सव शुक्रबार गृहमन्त्री खाँणले भने, “एमसिसी यदी पास नगरेको भए डलर सञ्चिती घट्दै जान्थ्यो । डलरको कारोबारमा सङ्कट आउँथ्यो जसले विश्व अर्थतन्त्रबाट नेपाल अलग्गिने खतरा थियो । त्यो अवस्थामा डलर चलाउन नसकिने अवस्था हुन्थ्यो । यसैले यी जटिलताबाट मुलुक जोगिएको छ ।”
००००
नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँघुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिए।
००००
पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९३३ नमूना परीक्षणमध्ये १११ पीसीआर र १५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
००००
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई सरकारले सोधेको स्पष्टीकरणसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बस्नेतलाई स्पष्टीकरण सोध्नेसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा शुक्रवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
००००
राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।

अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुन सक्ने आयोगले जनाएको छ ।
००००
नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको बताएका छन् । 
उनले जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा नगर्दासम्म स्वीकारेको नठहर्ने बताएका हुन् ।
००००
सर्वोच्च अदालतमा धेरै लामो समयपछि शुक्रबार संवैधानिक इजलास गठन भएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठतम् न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडासहित ५ जना न्यायाधीश रहेको इजलास गठन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्