
स्थानीय तहको निर्वाचनको तयारीका क्रममा पर्वतमा मतदाता विवरण अद्यावधिक गर्ने काम शुरू भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रवारदेखि त्रुटि सच्याउन शुरू भएको छ ।
निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले आयोगको वेबसाइटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिन्ट गरेर पठाइएकाले आफ्नो विवरण हेरेर सच्याउनुपर्ने भएमा वडाको सिफारिससहित निर्वाचन कार्यालयमा आउन अनुरोध गरे । १ हप्ताको अवधिमा विवरण सच्याउन नआउनेले पछि विवरण सच्याउने मौका नपाउने उनको भनाइ थियो ।