०५ असार २०८३, शुक्रबार

कर्णाली कोरिडोरमा १ दशकमा २७ प्रतिशत मात्र भौतिक प्रगति

फागुन २१, २०७८
कर्णाली कोरिडोरमा १ दशकमा २७ प्रतिशत मात्र भौतिक प्रगति

सरकारको प्राथमिकताको आयोजनामा रहेको कर्णाली कोरिडोरको करीब १ दशकमा भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको छ ।

आर्थिक वर्ष २०६९/७० देखि शुरू भएको आयोजनाको आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ तर हालसम्म २७ प्रतिशत मात्रै निर्माण गरिएकाले तोकिएको अवधिमा निर्माण सम्पन्न हुन नसक्ने निश्चितजस्तै देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू नै अहिलेको प्रगतिको आधारमा तोकिएको समयमा निर्माण सम्पन्न गर्न कठिन रहेको स्वीकार गर्छन् ।

‘निर्माणका लागि भूगोल पनि अप्ठ्यारो रहेको र बीचको समयमा भूकम्प, नाकाबन्दी, कोरोना, लकडाउनजस्ता बाधा व्यवधानले पनि निर्माणमा अवरोध पुगेको हो, त्यहीँ पनि अपेक्षा गरेअनुसार निर्माण हुन सकेन,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

कर्णाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाहेकको १४५ किलोमिटर (हिल्सा सिमिकोट सकडखण्ड ९५ किलोमिटर तथा सिमिकोट–सलिसल्ला सडक खण्ड–५०) सडक ट्रयाक निर्माण र त्यस सडकखण्डमा ४ वटा पुलको निर्माण गर्ने लक्ष्य सरकारको छ ।

सरकारले आयोजनाको निर्माणका लागि ४ दशमलव १० अर्ब लागत विनियोजन गरेर काम गर्दै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हालसम्म २७ दशमलव २० प्रतिशत प्रगति रहेको हो । जसमा १४५ किलोमिटरमध्ये १३७ किलोमिटर ट्रयाक खुलेको छ । ४ दशमलव १० अर्ब भन्ने १ दशमलव २० अर्ब अर्थात् २९ दशमलव २६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पनि प्रगति कमजोर नै देखिएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो त्रैमासिक अवधिमा ७ दशमलव ८४ प्रतिशत मात्र प्रगति देखिएको छ भने ९ दशमलव ०२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मन्त्रालयले वार्षिक लक्ष्यअनुसार १० किलोमिटर ट्रयाक खोल्ने र १० किलोमिटर ग्राभेल गर्ने लक्ष्य राखेकोमा २ किलोमिटर मात्र ट्रयाक खोलेको छ ।

आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिक अवधिमा भने प्रगति केही मात्रामा सुधार देखिएको छ ।

दोस्रो त्रैमासिक अवधिमा २ दशमलव ४ किलोमिटर ट्रयाक खोल्ने र २ दशमलव ४ किलोमिटर ग्राभेल गर्ने लक्ष्य रहेकोमा १ दशमलव ३ किलोमिटर ट्रयाक निर्माण भएको छ । मन्त्रालयका अनुसार २६ दशमलव ९१ प्रतिशत मात्र प्रगति देखिएको छ भने ३३ दशमलव शून्य १ प्रतिशत वित्तीय प्रगति भएको छ । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्