०६ असार २०८३, शनिबार

सिद्धार्थ सिमेन्टको बदमासीः तौल घटाएर उपभोक्ता ठग्दै

कात्तिक २०, २०७४
सिद्धार्थ सिमेन्टको बदमासीः तौल घटाएर उपभोक्ता ठग्दै

काठमाडौं, २१ असार– सिद्धार्थ सिमेन्टमा उपभोक्ता ठगिएको पाइएको छ । उक्त सिमेन्ट बिक्रीका लागि राखिएको बोरामा झण्डै एक किलोसम्म कम तौल भेटिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागले संयुक्त रुपमा गरेको बजार अनुगमनका क्रममा उक्त सिमेन्टले तौलमा उपभोक्ता ठगेको भेटिएको हो ।

अनुगमन टोलीले गत साता गरेको बजार अनुगमनमा उक्त सिमेन्टको ५० किलोको बोरामा ९ सय ग्रामसम्म कम तौल भेटिएको हो ।

तौलमा समस्या देखिएपछि उक्त सिमेन्टको विक्रीमा रोक लगाइएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले लोकान्तरलाई बताए ।

गुणस्तर तथा नापतौल विभागका अनुगमन अधिकृत रामसुन्दर शाहले १० वटा बोराको (र्यान्डम) परीक्षण गर्दा झण्डै आधा संख्याका बोरामा तौलमा कम देखिएको बताए । ‘बिक्रीमा राखिएको सिमेन्टको बोराको तौल परिक्षण गर्दा १ सयदेखि ९ सय ग्रामसम्म तौलमा कमी देखियो,’ शाहले भने ।

आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक दाहालले सिमेन्टको नमूना परिक्षणको नतिजा आइसकेको बताए । ‘सिमेन्टमा देखिएको कमजोरीहरुका बारेमा गुणस्तर विभागलाई पत्र पठाउने तयारी गरेका छौं,’ उनले भने । गुणस्तर विभागबाट प्राप्त सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढाइने दाहालले बताए ।

सिद्धार्थ ग्रुपद्वारा उत्पादित सिद्धार्थ सिमेन्ट पीपीसी सिमेन्ट हो ।

तौलमा समस्या देखिएपछि अनुगमन टोलीले १ सय ७० बोरा सिमेन्ट नियन्त्रणमासमेत लिएको छ । अनुगमन टोलीले समस्या भेटेपछि कम्पनीले उक्त सिमेन्टको बिक्री रोकेको विभागले जनाएको छ ।

यस विषयमा सिमेन्ट कम्पनीसँग प्रतिक्रिया लिन खोज्दा कम्पनीका अधिकारीहरु सम्पर्कमा आउन मानेनन् ।

salt training

कमेन्ट गर्नुहोस्