
रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
स्केट पार्क उद्घाटन भएसँगै नियमित खेल र अभ्यासका लागि खुला हुनेछ । स्केट पार्कको पहिलो चरणको काम सकिएकाले अब नियमित रुपमा प्रशिक्षण र खेल प्रतियोगिताहरू समेत गर्न सकिने स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।
फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करीब ६० जना व्यक्तिहरूले स्वयंसेवी रुपमा निर्माण गरेको पहाडीले बताए । स्केट एड इन्टरनेसनल, स्केट एड नेपाल र युवा फर चेञ्जले संयुुक्त रुपमा पार्क निर्माणमा जुटेका हुन् ।
पार्कको शनिवार लुम्बिनी प्रदेश प्रमुुख अमिक शेरचनले उद्घाटन गरे ।
तिलोत्तमा नगरपालिका–४ डिङगरनगरस्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क तथा सामुदायिक केन्द्रको शिलालेखको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुुदेव घिमिरे र स्टेक एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरेका छन् ।

तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करीब १० कठ्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्देश्यले स्केट एड नेपालले पार्क निर्माण गरेको हो । पहिलो चरणमा स्केट पार्क तयार पारिएको हो । गुरुयोजना अनुसार तेस्रो चरणसम्मको योजना सम्पन्न हुँदा स्केट पार्क दक्षिण एसियाकै नमूना हुने दाबी गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले खेल क्षेत्रले सबैलाई एकताबद्ध बनाउने भएकाले यसको विकासमा तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूूर्वमन्त्री एवं प्रदेश सभा सदस्य लीला गिरीले तिलोत्तमा नयाँ खेलको विकासका लागि स्टेक पार्क बनेकोले यसको थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए । उनले स्केट पार्कको प्रस्ताव ल्याउदा शुरूमा विश्वास नलागेर धेरैपटक छलफल गरिएको बताउँदै अहिले मूर्तरुप पाउँदा खुशी लागेको बताए ।
उक्त अवसरमा स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटम्यानले स्केट पार्कले नेपाली युवाहरूलाई आर्कषित गर्न सफल हुने बताए । उनले स्केट बोर्ड आफैंमा साहसी खेल भएकाले यसबाट बालबालिकाहरूले लाभ लिने विश्वास गरे ।