२६ जेठ २०८३, मंगलबार

ब्रोकरलाई टीएमएस दिने प्रक्रिया शुरू

फागुन २२, २०७८
ब्रोकरलाई टीएमएस दिने प्रक्रिया शुरू

लगानीकर्ताको शेयर किनबेच आदेशलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई  सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको छ ।

अनलाइन शेयर कारोबार गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्न नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउने गरी तयारी अगाडि बढेको हो । अहिले ब्रोकरहरूले नेप्सेले विकास गरेको टीएमएस भाडामा प्रयोग गर्दै आएका छन् ।

यो प्रक्रिया १ वर्षदेखि थालिएको भए पनि केही महीनायता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुँदा प्रक्रिया रोकिएको थियो । सेबोन अध्यक्षमा रमेश हमाल र नेप्सेको सीईओमा कृष्णबहादुर कार्कीे नियुक्त भएसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रियालाई अगाडि बढाइएको हो ।

ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचनाप्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाएको थियो । तर, केही विषय स्पष्ट नभएका कारण बोर्डले पुनः त्यसलाई स्पष्ट पार्न भनेको थियो । यसै क्रममा सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुुंगाना हटे । त्यस कारण यो प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

सेबोनका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीका अनुसार नेप्सेले नियमावलीमा भएका अस्पष्टता चाँडै स्पष्ट पारेर ल्याए बोर्डबाट स्वीकृति दिन समय लाग्दैन । ‘निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सर हुँदा नै अस्पष्ट भएका कुरा स्पष्ट पार्न नेप्सेलाई भनेका थियौं । नयाँ अध्यक्षको पदबहाली भएपछि छलफल भएको छ, सम्भवतः वैशाखभित्र काम सम्पन्न गर्छौं,’ उनले भने । अहिले ब्रोकरले नेप्सेले तयार पारेको सिस्टम चलाइरहेका छन् । टीएमएस सञ्चालन गर्ने स्वीकृति पाएपछि ब्रोकरले आफै विकास गरेर वा विदेशमा सञ्चालित सिस्टम खरीद गर्न सक्नेछन् । ब्रोकरहरूले आफ्नै टीएमएस चलाउने वा नेप्सेको टीएमएस चलाउने भन्ने छनोटसहित कारोबार विनियमावली संशोधन हुँदै छ । यो विनियमावलीमा सेबोनले स्पष्ट पार्नु भनेका कुरा स्पष्ट पार्नका लागि काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए ।

उनका अनुसार विनियमावलीमा आवश्यक विषय समेटर संशोधनपछि बोर्डमा चैतभित्रै बुझाउने तयारी भएको छ । आर्थिक अभियान दैनिकमा बलराम बुढाथोकीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्